धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक यही असोज २४ गते बस्ने भएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट ल्याउने गरी आज (असोज २२) बिहान बैठक बस्ने भनिएको थियो ।
प्रदेशसभा सचिवालयले अन्तिम समयमा स्थगित बैठक अब २४ गतेका निम्ति तय भएको जनाएको छ । बैठक आज बिहान ८ बजे बस्ने गरी तयारी गरिएको थियो । तर, सरकारको आग्रहपछि अब २४ गते बिहान ८ बजे बस्ने गरी समय निर्धारण गरिएको प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटी जानकारी दिए ।
“प्रदेश सरकारबाट अनुरोध भएअनुसार हामीले आज बिहान ८ बजे बस्ने गरी बैठकको तयारी गरेका थियौँ, तर बैठक बस्न सकेन । सरकारको आग्रहमै अब २४ गते बिहान बस्ने गरी समय निर्धारण गरेका छौँ,” उनले भने ।
हाल सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था छ । तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले चालु आर्थिक वर्षका निम्ति प्रदेशसभामा बजेट पेस गरिसकेको अवस्थामा सरकार फेरबदल भएपछि यस्तो अवस्था आएको हो । यहाँ साउन २९ गते नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता खगराज भट्टको नेतृत्वमा नेकपा (एमाले)सहितको सरकार गठन भएको हो ।




प्रतिक्रिया