काठमाडौं । काठमाडौं उपत्यकामा श्रृंखलाबद्ध लुटपाट, मोटरसाइकल चोरी तथा सुनका गरगहना लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले ‘माझी गिरोह’का मुख्य नाइकेसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुलीको मरिण गाउँपालिका–५ घर भई हाल कलंकी बस्दै आएका २४ वर्षीय आयन माझी, मकवानपुरका ३६ वर्षीय मनोजकुमार मोक्तान र ३४ वर्षीय राकेश थिङ रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरूलाई भक्तपुरको ठिमीबाट पक्राउ गरेको हो ।
काठमाडौं प्रहरीका अनुसार विशेष सूचनाका आधारमा गरिएको अप्रेसनका क्रममा प्रहरीले आयन माझीलाई नियन्त्रणमा लिएको हो । पक्राउ गर्ने क्रममा माझीले प्रहरीमाथि धारिलो हतियार प्रहार गरी भाग्न खोजेकाे थियाे । त्यसपछि प्रहरीले गोली चलाएर उनलाई नियन्त्रणमा लिएकाे हाे ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलीप घिमिरेले गिरोहले उपत्यकाका विभिन्न क्षेत्रमा लामो समयदेखि लुटपाट र चोरीका घटना गर्दै आएको जानकारी दिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार गिरोहले बिहान तथा रातिको समयमा एक्लै हिँडिरहेका सर्वसाधारणलाई निशाना बनाउने गरेको थियो । उनीहरूले बाटो सोध्ने बहानामा महिला तथा पुरुषलाई रोकेर सुनका सिक्रीलगायतका गरगहना लुट्ने र त्यसपछि विभिन्न सवारीसाधन परिवर्तन गर्दै फरार हुने गरेको पाइएको छ ।
प्रहरीका अनुसार उक्त समूहले हालसम्म १५ भन्दा बढी मोटरसाइकल चोरी गरेको तथा उपत्यकाका विभिन्न स्थानमा भएका २७ भन्दा बढी लुटपाटका घटनामा संलग्न रहेको खुलेको छ ।
पक्राउ परेका मुख्य अभियुक्त माझी यसअघि पनि डाँका तथा चोरीसम्बन्धी मुद्दामा कारागार बसेर छुटेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा उनले जेनजी आन्दोलनका क्रममा लुटिएका अत्याधुनिक हतियार खरिद गर्ने योजनासमेत बनाएको खुलेको प्रहरीको भनाइ छ ।
प्रहरीले उनीहरूको साथबाट लुटपाटमा प्रयोग भएका दुईवटा मोटरसाइकल, पाँचवटा नक्कली नम्बर प्लेट र एक थान खुकुरी बरामद गरेको छ ।
गिरोहमा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको र पक्राउ परेकाहरूमाथि थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।




प्रतिक्रिया