हवाई भाडा: स्वीकृत दरभन्दा सस्तोमा टिकट बेच्ने सहमति


काठमाडौं । नजिकिँदो चाडपर्वलाई लक्षित गरी हवाई भाडा बढाइएको गुनासो आएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आन्तरिक वायुसेवा कम्पनीहरूसँग छलफल गरेको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)को सक्रियतामा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बिहीबार सम्बन्धित आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिलाई बोलाएर हवाई भाडाका विषयमा छलफल गरेको हो ।

छलफलमा क्यान र वायुसेवा कम्पनीबीच स्वीकृत अधिकतम भाडादरभन्दा कम मूल्यमा टिकट बिक्री गर्ने तथा त्यसबारे यात्रुलाई स्पष्ट जानकारी उपलब्ध गराउने सहमति भएको छ । साथै, टिकटको दरबारे सर्वसाधारणलाई स्पष्ट जानकारी दिन सो भाडादर सम्बन्धित वायुसेवा कम्पनीहरूको आधिकारिक बिक्री वितरण प्लेटफर्म (वेबसाइट तथा एप) मा अनिवार्य रूपमा प्रकाशन गर्नुपर्ने सहमतिसमेत जुटेको छ ।

प्रधानमन्त्री कार्यालयकोकाे अनुसार चाडपर्वको समयमा घर जाने यात्रुहरूको चापलाई देखाउँदै वायुसेवा कम्पनीहरूले अत्यधिक भाडा असुल्न थालेको भन्दै चौतर्फी गुनासो आएपछि सरकारले यस विषयमा चासो देखाएको हाे ।

आन्तरिक हवाई सेवाका लागि न्यूनतमदेखि अधिकतम भाडादर निर्धारण गरिएको छ । तत्कालीन पर्यटनमन्त्रीस्तरीय निर्णयबाट २०७३ मंसिर २७ गते आन्तरिक हवाई सेवाको भाडादर निर्धारण गरिएको थियो ।

क्यानले स्वीकृत भाडादरको सीमाभित्र रहेर यात्रुलाई सहज र पारदर्शी रूपमा टिकट उपलब्ध गराउन वायुसेवा कम्पनीहरूलाई आग्रह गरेको छ ।