काठमाडौँ । अर्थविद् डा. चन्द्रमणि अधिकारीले प्रशासनिक परिचालन र बजार अनुगमन चुस्त हुन नसक्दा सर्वसाधारण उपभोक्ता मूल्यवृद्धिको मारमा परेको बताएका छन्। रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अर्थविद् अधिकारीले चर्को मूल्य तिर्दा पनि उपभोक्ताले गुणस्तरीय वस्तु र सेवा पाउन नसकेको बताए। चाडबाडका बेला मूल्य बढ्न नहुनेमा उनले जोड दिए ।
‘अहिले मूल्य मात्र बढेको छैन, चर्को मूल्य तिरेर पनि गुणस्तरीय सेवा पाउन सकिएको छैन। महँगो मूल्य हुँदाहुँदै र उपभोग्य सामान गुणस्तरीय नहुँदा नहुँदै पनि भनेको बेलामा सामान पाइँदैन,’ उनले भने, ‘जसका कारण उपभोक्ताहरू निकै अप्ठेरोमा परेका छन्।’
अर्थशास्त्रीय दृष्टिकोणबाट हेर्दा आयात गर्दाको लागत, श्रमिकको ज्याला र कच्चा पदार्थको मूल्य बढेकाले पनि महँगी बढ्ने भए पनि पछिल्लो समय यातायात भाडा, हवाई भाडा र इन्टरनेटको समेत मूल्य बढ्दै गएको उनले उल्लेख गरे। लगातारको मूल्यवृद्धिले निम्न र निम्न–मध्यम वर्गका नागरिकलाई सबैभन्दा बढी असर पारेको अर्थविद् अधिकारीले बताए।
अन्तर्राष्ट्रिय स्तरमा युद्ध चर्किँदै जाँदा कच्चा तेलको मूल्य बढेर विश्वव्यापी अनिश्चितता थपिएको अवस्थामा स्वदेशी बजार व्यवस्थापनमा सरकार अलमलिएको उनले टिप्पणी गरे। सरकारले आफ्नो प्रशासन र व्यवस्थापन चुस्त बनाउन नसकेको तथा कर्मचारी संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गरी बजार अनुगमन गर्न नसकेकै कारण अनियन्त्रित रूपमा मूल्य बढेको उनको भनाइ छ ।




प्रतिक्रिया