काठमाडौँ । स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले यसपटकको दशैँमा सर्वसाधारण जनता पीडा र महँगीको मारमा परेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले चाडबाडका बेला हुने महँगी नियन्त्रण गर्न सरकार कम्मर कसेर लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा धमलाले दशैँका बेला देशभरका सञ्चारकर्मीहरूलाई एक रुपैयाँ पनि नलिई गन्तव्यसम्म पुर्याइदिन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलासँग आग्रह गरेका थिए । जवाफमा सिटौलाले निःशुल्क लैजान नसकिए पनि कार्यव्यस्तताका कारण टिकट पाउन कठिन हुने पत्रकारहरूलाई सहजै टिकट उपलब्ध गराउने वातावरण बनाउने प्रतिबद्धता जनाए ।
चाडबाडका बेला कालोबजारी र मूल्यवृद्धि बढ्ने भन्दै स्वतन्त्र नागरिक अभियानले बजारको अनुगमन गर्ने धमलाले जानकारी दिए । साथै, यात्रुहरूले बासी र गुणस्तरहीन खाना खान नपरोस् भन्नका लागि राजमार्गका होटलहरूमा समेत अभियानले अनुगमन गर्ने उनले स्पष्ट पारे ।
आफ्नो दशैँ मनाउने योजनाबारे सार्वजनिक गर्दै धमलाले यसपालि बाढीपीडितहरूसँगै दशैँ मनाउने बताए । ‘दशैँको पहिलो दिन रसुवाका बाढीपीडितसँग, दोस्रो दिन नुवाकोटका र तेस्रो दिन धादिङका बाढीपीडितसँग दशैँ मनाउँछु,’ उनले भने । यसबाहेक पत्रकारहरूसँग पनि बसेर दशैँ मनाउने धमलाले बताए ।
काठमाडौँबाट धनगढीको हवाई भाडा भारतको दिल्लीभन्दा पनि महँगो भएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । हवाई भाडा दर घटाउनका लागि आफूले पर्यटन मन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागेको समेत धमलाले जानकारी दिए ।




प्रतिक्रिया