युवालाई रोजगारी र अर्थतन्त्र उत्पादनमुखी हुनुपर्छ- गिरि


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता राजबहादुर गिरिले देशको अर्थतन्त्रलाई उत्पादनमुखी बनाउनुपर्ने बताएका छन्। उनले बढ्दो बेरोजगारी, खेतीयोग्य जमिन बाँझो रहने अवस्था र विदेशबाट आउने रकममा निर्भर हुनुपर्ने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरेका छन्।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै गिरिले देशका ४० देखि ५० प्रतिशतसम्म जमिन बाँझो रहेको दाबी गरे। उनले खेतीयोग्य जमिन उपयोगमा ल्याएर उत्पादन बढाउनुपर्नेमा जोड दिए।

‘युवा बेरोजगारीको पीडामा छन्। ४० देखि ५० प्रतिशत जमिन बाँझो छ। विदेशबाट आएको रकमबाट जीवन धान्नुपर्ने अवस्था छ,’ उनले भने, ‘खेतीयोग्य जमिन बाँझो बस्नु दुःखद् हो। यसका लागि सरकारदेखि आम नागरिकसम्म सबै जवाफदेही हुनुपर्छ।’

उनले मुलुकको अर्थतन्त्रलाई उत्पादनसँग जोड्नुपर्ने आवश्यकता औंल्याउँदै कृषि तथा अन्य उत्पादनमूलक क्षेत्रमा राज्यले प्राथमिकता दिनुपर्ने बताए।

महँगी नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्नेमा पनि गिरिले जोड दिए।
‘सरकारले महँगी नियन्त्रण गर्नुपर्छ। तर अहिले बिचौलियाहरूले बिचौलियाको काम गर्न नपाएर विभिन्न भ्रम छरेका छन्,’ गिरिले भने।

उनले बजार तथा उपभोगसम्बन्धी विषयमा आम उपभोक्ता पनि सचेत हुनुपर्ने बताए। उपभोक्ता सचेतना बढाउन सके बजारमा हुने विकृति नियन्त्रणमा सहयोग पुग्ने उनको भनाइ थियो।