साओ पाउलो, २३ असोज । ब्राजिलको राष्ट्रपति निर्वाचनमा दक्षिणपन्थी उम्मेदवार फ्लेभियो बोल्सोनारोले तेस्रो स्थानका उम्मेदवार अगस्टो क्युरीको समर्थन प्राप्त गरेका छन् । यसले वर्तमान वामपन्थी राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाविरुद्ध उनको चुनावी सम्भावना बलियो बनाएको छ ।
पहिलो चरणको मतदानमा क्युरीले करिब तीन प्रतिशत मत पाएका थिए । उक्त निर्वाचनमा फ्लेभियोले ४७ र लुलाले ४५ प्रतिशत मत प्राप्त गरेका थिए । समर्थन घोषणा गर्दै क्युरीले भनेका छन्, “मेरो समर्थन खाली चेक होइन ।”
पैँतालिस वर्षीय फ्लेभियो कट्टर दक्षिणपन्थी पूर्वराष्ट्रपति जायर बोल्सोनारोका जेठा छोरा हुन् । सन् २०२२ को निर्वाचनमा पराजित भएपछि विद्रोहको षड्यन्त्र रचेको आरोपमा जायर अहिले नजरबन्दमा हुन् ।
डाटाफोलाको बिहीबार सार्वजनिक सर्वेक्षणअनुसार फ्लेभियोलाई ५२ प्रतिशत र ८१ वर्षीय लुलालाई ४८ प्रतिशत मतदाताको समर्थन छ । चौथो कार्यकालका लागि प्रतिस्पर्धा गरिरहेका लुलाले चुनाव जित्न फ्लेभियोभन्दा बढी मत प्राप्त गर्नुपर्ने बताउँदै त्यसका लागि आफूसँग १७ दिन रहेको उल्लेख गरेका छन् ।
निर्वाचन अभियानको अन्तिम चरणमा फ्लेभियोले समर्थकको विश्वासमा भर परेका छन् भने लुलाले सामाजिक सञ्जालमा आफ्नो उपस्थिति बलियो बनाउँदै आएका छन् । सामाजिक सञ्जालमा दक्षिणपन्थी पक्षको प्रभाव बढी देखिएको छ ।
यसैबीच, फ्लेभियोको सम्भावित सत्तारोहणको विरोधमा साओ पाउलो र अन्य सहरमा हजारौँ मानिसले प्रदर्शन गरेका छन् । यसअघि रियो दि जेनेरियोमा पनि प्रदर्शन भएको थियो । पहिलो चरणमा २६ लाख मतसहित चौथो भएका रेनान सान्तोसले भने कुनै पनि प्रमुख उम्मेदवारलाई समर्थन नगर्ने बताएका छन् । रासस




प्रतिक्रिया