नयाँ दिल्ली । भारतको निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता सूचीको ‘विशेष गहन पुनरावलोकन’ प्रक्रियालाई लिएर विवाद बढेपछि राजधानी नयाँ दिल्लीमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ। शनिबार आयोजना हुने भनिएको प्रदर्शनलाई लक्षित गर्दै दिल्लीमा २० हजारभन्दा बढी प्रहरी तथा अद्र्धसैनिक सुरक्षाकर्मी तैनाथ गरिएको छ।
विपक्षी दलहरूले आयोगको पुनरावलोकन प्रक्रियाप्रति आपत्ति जनाउँदै मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारलाई तत्काल पदमुक्त गर्न माग गरेका छन्। विपक्षी नेता तथा आलोचकहरूका अनुसार यो कदम प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) लाई राजनीतिक लाभ पुर्याउने र मतदातालाई मताधिकारबाट वञ्चित गर्ने मनसायले चालिएको कदम हो।
विवाद चर्किएसँगै भारतीय राष्ट्रिय कङ्ग्रेसका नेता राहुल गान्धीसहितका विपक्षी नेताहरूले राष्ट्रपति द्रौपदी मुर्मूसँग भेट गरी आयोग प्रमुखविरुद्ध औपचारिक उजुरी दर्ता गर्ने तयारी गरेका छन्।
प्रशासनले सम्भावित प्रदर्शनलाई रोक्न मुख्य प्रदर्शनस्थल तोकिएको दिल्लीको जन्तरमन्तर क्षेत्रमा र्याली गर्ने अनुमति नदिई आवागमनमा कडा प्रतिबन्ध लगाएको छ।
यसैबीच, प्रदर्शनको आह्वान गर्ने ‘कक्रोच जनता पार्टी’ (सिजेपी) ले आफ्ना समर्थकहरूलाई प्रदर्शनअघि नै प्रहरीले गैरकानुनी रूपमा नियन्त्रणमा लिएको आरोप लगाएको छ।




प्रतिक्रिया