अन्सारीले संसद्‌मा उठाएका गम्भीर टिप्पणीप्रति नेशनल मेडिकल कलेजको आपत्तिः निष्पक्ष र पारदर्शी छानबिनका लागि तयार रहेको उल्लेख


काठमाडौँ । प्रतिनिधिसभामा सांसद रहबर अन्सारीले नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा लगाएका गम्भीर आरोपहरूप्रति कलेज प्रशासनले आपत्ति जनाएको छ। कलेजले ती आरोपहरूलाई अपुष्ट, तथ्यहीन र भ्रामक भन्दै निष्पक्ष एवं पारदर्शी छानबिनका लागि आफू पूर्ण रूपमा तयार रहेको स्पष्ट पारेको छ।

प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अन्सारीले कलेजमा स्नातकोत्तर (पीजी) प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरूको आन्दोलनलाई उद्धृत गर्दै कलेजमाथि गम्भीर टिप्पणी गरेका थिए। सांसद अन्सारीका ती भनाइहरूले विद्यार्थी, चिकित्सक, कर्मचारी, बिरामी तथा सर्वसाधारणमा अविश्वास र भ्रम सिर्जना गरेको कलेजको ठम्याइ छ।

कलेजका प्रशासन प्रमुख विश्वनाथ कण्ठद्वारा जारी विज्ञप्तिमा सांसदले उठाएका आरोपका सम्बन्धमा हालसम्म कुनै पनि नियामक वा सरकारी निकायबाट पुष्टि भएको आधिकारिक निष्कर्ष प्राप्त नभएको उल्लेख छ।
“चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा सार्वजनिक रूपमा उठाइने विषयहरू प्रमाणित तथ्य, दस्तावेजी आधार र अधिकारप्राप्त निकायको आधिकारिक परीक्षणमा आधारित हुनुपर्छ,” विज्ञप्तिमा भनिएको छ, “अपुष्ट आरोपहरूले सरोकारवालाहरूमा अनावश्यक भ्रम र अविश्वास मात्र सिर्जना गर्छन्।”

कलेजले तथ्यमा आधारित निष्पक्ष र पारदर्शी परीक्षणका लागि आवश्यक सम्पूर्ण अभिलेख तथा विवरण सम्बन्धित निकायलाई उपलब्ध गराउन आफू तयार रहेको समेत जनाएको छ।

करिब २५ वर्षदेखि त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित नेशनल मेडिकल कलेज चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान, नेपाल मेडिकल काउन्सिल तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायत सम्बन्धित निकायहरूको नियमित अनुगमन र नियामकीय प्रक्रियाअन्तर्गत सञ्चालन हुँदै आएको जनाइएको छ।

कलेज प्रशासनले आफ्नो साढे दुई दशक लामो संस्थागत इतिहास, चिकित्सा शिक्षाको गुणस्तर, सुरक्षित स्वास्थ्य सेवा, विद्यार्थीहरूको शैक्षिक हित तथा नियामकीय मापदण्डको पालनाप्रति सदैव प्रतिबद्ध रहेको पुनः स्पष्ट पारेको छ।