काठमाडौं । मलेसियाले सन् २०२७ जुनदेखि लागू हुने गरी श्रमिकको न्यूनतम मासिक तलब २ हजार रिंगिट पुर्याउने घोषणा गरेको छ। यो निर्णय कार्यान्वयनमा आएपछि नेपालीसहित ४० लाखभन्दा बढी श्रमिक लाभान्वित हुने अपेक्षा गरिएको छ।
मलेसियाका प्रधानमन्त्री तथा अर्थमन्त्री अनवर इब्राहिमले शुक्रबार सन् २०२७ को बजेट सार्वजनिक गर्दै न्यूनतम तलब बढाउने घोषणा गरेका हुन्। हाल त्यहाँ श्रमिकको न्यूनतम मासिक तलब १ हजार ७ सय रिंगिट रहेको छ। नयाँ व्यवस्थाअनुसार तलबमा ३ सय रिंगिट वृद्धि हुनेछ।
न्यूनतम तलब वृद्धिले मलेसियामा कार्यरत नेपालीसहित विदेशी श्रमिकको आम्दानी बढ्ने अपेक्षा गरिएको छ। मलेसियाको निजी क्षेत्रमा कार्यरत विदेशी श्रमिकलाई समेत यो व्यवस्था लागू हुने भए पनि घरेलु कामदारलगायत केही श्रेणीका श्रमिक भने यसको अपवादमा पर्नेछन्।
सरकारले वार्षिक आम्दानी ५ करोड रिंगिटभन्दा कम भएका सूक्ष्म, साना तथा मझौला उद्यमलाई नयाँ न्यूनतम तलब लागू गर्न छुट दिने जनाएको छ। यस्ता उद्यमलाई तलबसम्बन्धी नयाँ व्यवस्था कार्यान्वयनका लागि समय उपलब्ध गराइनेछ।
श्रमिकको आय बढाएर जीवनयापनको खर्च व्यवस्थापनमा सहजता ल्याउने उद्देश्यले तलब वृद्धि गर्न लागिएको मलेसियाली सरकारले जनाएको छ। यसैगरी, बजेटमार्फत अर्धदक्ष श्रमिक तथा स्नातक तह उत्तीर्ण गरेका व्यक्तिका लागि सुरुआती न्यूनतम मासिक तलब २ हजार ५ सय रिंगिट निर्धारण गर्ने घोषणा पनि गरिएको छ।
मलेसिया नेपाली श्रमिकका लागि प्रमुख वैदेशिक रोजगार गन्तव्यहरूमध्ये एक हो। न्यूनतम तलब वृद्धिको निर्णयले त्यहाँ कार्यरत श्रमिकको आम्दानीमा सुधार ल्याउने अपेक्षा गरिएको छ।




प्रतिक्रिया