काठमाडौं । करिब २२ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिकलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सार्वजनिक गरेको छ। प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा २७ वर्षीय हान फेइ, ३७ वर्षीय वाङ जियानझेन र ४७ वर्षीय झोउ लोङक्विन रहेका छन्। उनीहरूलाई प्रहरीले बिहीबार राति काठमाडौंको बूढानीलकण्ठस्थित एक घरबाट पक्राउ गरेको थियो।
उनीहरूको साथबाट २१ किलो ७५० ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ। सार्वजनिक गर्ने क्रममा प्रहरीले बरामद सुनसमेत प्रदर्शन गरेको थियो। बरामद सुनमध्ये १० किलो ९९७ ग्रामका ११ वटा टुक्रा तयारी अवस्थामा रहेको र १० किलो ७५२ ग्राम सुन प्रशोधन हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार चिनियाँ नागरिकहरूले बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन गर्ने स्थानका रूपमा प्रयोग गर्दै आएका थिए। उक्त घरबाट सुन गाल्न प्रयोग गरिने मेसिनलगायत उपकरणसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया