काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी र केन्द्रीय कमिटीमा मनोनयन सदस्यका थप नाममा नेताहरूले असन्तुष्टि जनाएपछि स्थायी कमिटी बैठक लम्बिएको छ। प्रस्तावित नाममा सहमति जुट्न नसकेपछि शुक्रबारको बैठक शनिबारसम्मका लागि स्थगित गरिएको हो।
बिहीबारदेखि सुरु भएको बैठकमा शुक्रबार स्थायी कमिटी, केन्द्रीय कमिटीलगायत विभिन्न पार्टी कमिटी र संगठनलाई पूर्णता दिने विषयमा छलफल भएको एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए।
उनका अनुसार बैठक शनिबार दिउँसो १ बजे पुनः बस्नेछ।
एक स्थायी कमिटी सदस्यका अनुसार अध्यक्ष ओलीले विभिन्न कमिटीमा मनोनयनका लागि प्रस्ताव गरेका थप नाममा सहमति जुट्न नसकेपछि पुनः छलफल गरेर निर्णयमा पुग्ने गरी बैठक स्थगित गरिएको हो।
एमालेले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय सदस्यको मनोनयन गर्नुका साथै विभागसहित विभिन्न पार्टी कमिटीलाई पूर्णता दिन बाँकी छ। यी विषयमा सहमति जुटाउन शनिबारको बैठकमा थप छलफल हुनेछ।




प्रतिक्रिया