आज देशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा हुने


काठमाडौं । आज शनिबार देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा हुन सक्नेछ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागमा पनि छिटपुट वर्षाको सम्भावना छ। कोशी प्रदेशको तराई क्षेत्रमा समेत वर्षा हुन सक्ने अनुमान छ।

दिउँसो हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बादल लाग्ने र तराईमा आंशिक बदली रहनेछ। राति पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली भए पनि तराईको मौसम मुख्यतया सफा रहनेछ। तराईका केही स्थानमा बिहान हुस्सु लाग्न सक्नेछ।

यस्तै, राति कोशी, बागमती र गण्डकीका उच्च भूभागमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ। पछिल्लो २४ घण्टामा पनि देशका केही स्थानमा भारी र धेरै क्षेत्रमा मध्यम वर्षा भएको थियो।