राजगीर साह/ रौतहट । देवाही गोनाही नगरपालिका क्षेत्रमा लालबकैया नदीमा करिब १९ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको पुल नदीको वर्तमान बहाव क्षेत्रभन्दा करिब तीन किलोमिटर टाढा परेको स्थानीयको दाबी छ। पुलको भौतिक प्रगति ९०.२४ प्रतिशत पुगे पनि उपयोगमा आउन नसक्दा सार्वजनिक लगानीमाथि गम्भीर प्रश्न उठेको छ।
आयोजना विवरणअनुसार सपना निर्माण सेवा, हेटौँडाले १९ करोड ७ लाख ८४ हजार ५९७ रुपैयाँमा पुल निर्माणको ठेक्का पाएको थियो। २०७३ फागुन ६ गते सम्झौता भएको आयोजनाको म्याद थपेर २०८३ असोज ३० गतेसम्म पुर्याइएको छ।
तराई स्वतन्त्र न्याय मञ्चका केन्द्रीय अध्यक्ष भाग्य नारायण बैठाले पुल निर्माणमा भएको खर्चको छानबिन गरी दोषी देखिने पक्षलाई कारबाही गर्न माग गरेका छन्।
डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरका प्रमुख अरुणकुमारलाल कर्णले पुल निर्माण शुरु हुँदा त्यहाँ नदी बग्ने गरेको र पछि धार परिवर्तन भएपछि पुल बहाव क्षेत्रभन्दा बाहिर परेको बताए। नदीको नयाँ धारमा करिब ३०० मिटर लामो अर्को पुल निर्माणका लागि प्रस्ताव पठाइएको उनले जानकारी दिए। पुरानो पुलमा रंगरोगन र एप्रोच सडकको काम भइरहेको उनको भनाइ छ।
नदीको धार परिवर्तन भए पनि पुरानो पुलमा काम जारी राख्नुको औचित्य, म्याद थपका आधार र खर्चको प्रभावकारिताबारे प्रश्न उठेका छन्। स्थानीयले आयोजनाको प्राविधिक अध्ययन, भुक्तानी विवरण र निर्णय प्रक्रिया सार्वजनिक गरी निष्पक्ष छानबिन गर्न माग गरेका छन्।
जनताको करबाट बनेको पुल जनताकै काममा आउन नसके त्यसको जिम्मेवारी कसले लिने ? लालबकैया पुलले सार्वजनिक निर्माणको योजना र अनुगमनमाथि गम्भीर प्रश्न खडा गरेको छ।





प्रतिक्रिया