काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टीप्रति असन्तुष्टि जनाउँदै टाढिएका नेता, कार्यकर्ता र शुभेच्छुकलाई पुनः कांग्रेसमा फर्काउने घाेषणा गरेका छन्।
शनिबार १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा सम्बोधन गर्दै थापाले कांग्रेसप्रति वर्षौँदेखि माया र समर्थन जनाउँदै आएका तर पछिल्लो समय पार्टीका गतिविधिप्रति असन्तुष्ट भएर टाढिएका व्यक्तिलाई पुनः जोड्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
थापाले पार्टीका नेता तथा कार्यकर्तामात्र नभई कांग्रेसलाई समर्थन गर्दै आएका लाखौँ शुभचिन्तकलाई समेत पार्टीमा फर्काउने बताए। कांग्रेसको कार्यालय, परिवार र संगठनप्रति अपनत्व महसुस हुने वातावरण बनाउने उनको भनाइ छ।
‘ती साथीहरूलाई नेपाली कांग्रेसको कार्यालय, नेपाली कांग्रेसको घर र नेपाली कांग्रेसको परिवारमा फर्किन मन लाग्ने बनाउँछौँ,’ थापाले भने।
उनले पार्टीको काम गर्ने शैलीमा परिवर्तन ल्याउने प्रतिबद्धता पनि जनाए। सबैभन्दा पहिले पार्टीमा रहेका नेता तथा कार्यकर्ताको विश्वास अझ बलियो बनाउने र असन्तुष्ट भएर टाढिएका व्यक्तिलाई समेत समेटेर अघि बढ्ने उनले बताए।




प्रतिक्रिया