भ्रष्टाचारविरुद्ध कडा कदम चाल्न ऋषि धमलाको आग्रह


काठमाडौँ । अविरल वर्षाका कारण देशका प्रमुख राजमार्गहरू क्षतिग्रस्त भई यात्रुले सास्ती भोग्नुपरेको भन्दै स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले काठमाडौँ उपत्यका आवतजावतका लागि तत्काल ‘मास्टरप्लान’ बनाएर वैकल्पिक मार्गको खोजी गर्न सरकारसँग माग गरेका छन्।

रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रममा बोल्दै अध्यक्ष धमलाले चाडबाडका बेला सडकको अवस्था भयावह रहेको औँल्याउँदै प्रधानमन्त्री बालेन शाह र भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालको गम्भीर ध्यानाकर्षण गराएका हुन्।

“चाडबाडको मौसम छ, तर राजमार्गको विकल्प खोज्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ,” धमलाले भने, “सरकारले तत्काल वैकल्पिक मार्गको खोजी गरी राजधानी आवतजावतलाई सहज बनाउन मास्टरप्लान बनाएर लाग्नुपर्छ।”

प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकप्रति सहानुभूति प्रकट गर्दै अध्यक्ष धमलाले यसपालिको दशैँ बाढीपीडितहरूसँगै मनाउने निधो गरेको समेत बताएका छन्।

यस्तै, अदालत र समग्र न्याय प्रणालीमा देखिएको बेथितिका विषयमा बोल्दै धमलाले अदालतलाई बिचौलिया र राजनीतिक प्रभावबाट मुक्त राख्नुपर्नेमा जोड दिए। न्यायालयभित्र भ्रष्टाचार र बिचौलियाको दबदबा रहेको जनगुनासो व्यापक रहेको उल्लेख गर्दै उनले भने, “न्यायालयको बेथिति समाप्त हुनैर्छ। न्यायधीशहरूले न्याय सम्पादन गर्दा कुनै आग्रह-पूर्वाग्रह नराखी पूर्ण रूपमा तटस्थ भएर निर्णय गर्नुपर्छ।”

कार्यक्रममा व्यापारी दीपक भट्टको प्रसङ्ग उठाउँदै धमलाले ठूला राजनीतिक नेताहरूसँग उनको कनेक्सन रहेको र यस विषयमा आफूले दुई वर्षदेखि ‘प्राइम टेलिभिजन’ मार्फत समाचार र तथ्यहरू सार्वजनिक गर्दै आएको दाबी गरे।

सुशासनका मुद्दामा बोल्दै अध्यक्ष धमलाले वर्तमान प्रधानमन्त्री बालेन शाह स्वयं भ्रष्टाचारमा संलग्न नरहेको भए पनि भ्रष्टाचारीमाथि कारबाही गर्ने मामलामा कडा हुनुपर्ने बताए। “प्रधानमन्त्री शाहले भ्रष्टाचार गर्नुभएको छैन, तर भ्रष्टाचारीलाई कानुनको दायरामा ल्याउन र कारबाही गर्न उहाँले खुट्टा कमाउनु हुँदैन,” धमलाले थपे।