१३ वर्ष पुगेका बालबालिकालाई सर्तसहित हल्का काम गर्न दिने सरकारी प्रस्तावको बचाउ


९ मंसिर, काठमाडौं । बालश्रम पूर्ण रूपमा निषेध गर्ने कि उमेर र कामको प्रकृतिका आधारमा नियमन गर्ने भन्ने बहस चलिरहेका बेला सरकारले १३ वर्ष उमेर पुगेका बालबालिकालाई निश्चित सर्तमा हल्का काम गर्न दिने प्रस्तावको बचाउ गरेको छ ।

बालश्रममा संलग्न बालबालिकाको संख्या घटाउने उद्देश्यले विधेयक ल्याइएको भन्दै सरकारले नेपालको आर्थिक, सामाजिक तथा पारिवारिक अवस्थालाई ध्यानमा राखेर उमेर र कामको सीमा निर्धारण गरिएको तर्क गरेको छ ।

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बालश्रम निषेध तथा नियमन गर्ने विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै नेपालमा अझै ११ लाख बालबालिका बालश्रममा संलग्न रहेको तथ्याङ्क प्रस्तुत गरे । उनीहरूलाई श्रमबाट बाहिर निकाल्दै बालश्रमको संख्या घटाउनु विधेयकको मुख्य उद्देश्य रहेको उनको भनाइ छ ।

‘हामीले यो बनाउनुको कारण भनेको अहिले पनि नेपालमा ११ लाख बच्चा बालश्रममा आबद्ध छन् भनेर डाटाले देखाइराख्या छ । हो, त्यो ११ लाखलाई कसरी घटाउनेतिर हामी सोचिराख्या हो’, मन्त्री यादवले भने ।

उनले बालश्रम पूर्ण रूपमा निषेध गर्ने कानुन बनाउँदैमा समस्या समाधान नहुने बताए । गरिबी, पारिवारिक अवस्था, अभिभावकविहीनता र बालबालिकाको संरक्षण गर्ने राज्यको क्षमतासमेतलाई ध्यानमा राखेर कानुन बनाउनुपर्ने उनको तर्क थियो ।

‘कानुन यस्तो बनाइदियो जुन कार्यान्वयन नै गर्न सकिएन भने त्यो फेल हुन जान्छ’, उनले भने, ‘हामीले प्राक्टिकल र कार्यान्वयन गर्न सकिने आफ्नो स्थिति हेरेर कानुन बनाउनुपर्छ ।’

सरकारले प्रस्ताव गरेको १३ वर्षको उमेरसीमा नेपालको आर्थिक तथा सामाजिक परिस्थितिका आधारमा निर्धारण गरिएको मन्त्री यादवले बताए । विकसित देश र नेपालको पारिवारिक तथा आर्थिक अवस्था फरक रहेकाले कानुन पनि देशको यथार्थअनुसार बनाउनुपर्ने उनको भनाइ छ ।

प्रस्तावअनुसार १३ देखि १५ वर्ष उमेर समूहका बालबालिकाले घरमा अभिभावकलाई सामान्य सहयोग गर्ने प्रकृतिका हल्का काम मात्रै गर्न पाउनेछन् । त्यस्ता कामले उनीहरूको शिक्षा, स्वास्थ्य, शारीरिक तथा मानसिक विकासमा असर पार्न नहुने र शोषणको जोखिमसमेत हुन नहुने मन्त्री यादवले बताए ।

‘हामीले बच्चालाई स्कुलबाट निकालेर काममा लगाउनुपर्छ भन्ने तर्फ पनि होइनौँ । हामीले बच्चालाई स्कुलमा टिकाउनुपर्छ भन्ने पक्षमै हो’, उनले भने ।

त्यस्तै, १५ देखि १८ वर्ष उमेर समूहका बालबालिकाका लागि पनि कामको प्रकृति र सीमा छुट्याइएको छ । कुन उमेर समूहका बालबालिकाले कस्तो काम गर्न पाउने भन्ने व्यवस्था विधेयकको अनुसूचीमा समेटिएको मन्त्री यादवले जानकारी दिए ।

उनका अनुसार लामो समय काममा लगाउने, स्वास्थ्यमा असर पार्ने, मानसिक दबाब सिर्जना गर्ने तथा उमेरअनुसार तोकिएको सीमाभन्दा बढी काम गराउने अवस्थालाई शोषणकारी श्रमका रूपमा लिनुपर्छ । बालश्रम र सामान्य कामलाई एउटै रूपमा हेर्न नहुने सरकारको तर्क छ ।

बालबालिकालाई काममा लगाउने सबै व्यक्ति शोषणकारी नहुने तर्क गर्दै मन्त्री यादवले विगतमा ग्रामीण क्षेत्रमा आर्थिक अवस्था कमजोर भएका परिवारले आफ्ना बालबालिकालाई पढाइदिने र हेरचाह गरिदिने व्यक्तिकहाँ पठाउने अभ्यास रहेको बताए । अहिले कानुनको डरले त्यस्ता परिवारसमेत त्रसित हुने अवस्था आएको उनको भनाइ थियो ।

‘राख्यौं भने एरेस्ट नै होला कि जस्तो लाग्छ । जबकि उसले राम्रो केयर गरेर, नराम्रो पनि होलान् तर राम्रो पनि यसमा परे कि’, उनले भने ।

सांसदहरूको जोड : उद्धारसँगै पुनर्स्थापना र आर्थिक सुरक्षा

विधेयकमाथिको सैद्धान्तिक छलफलमा सहभागी सांसदहरूले भने बालश्रम रोक्न कानुनी व्यवस्था मात्रै पर्याप्त नहुने भन्दै उद्धार, पुनर्स्थापना, परिवारको आर्थिक सुरक्षा, विद्यालयमा पुनःएकीकरण र प्रभावकारी अनुगमनमा जोड दिएका छन् ।

सांसद प्रभा कार्कीले बालबालिकालाई कामबाट उद्धार गरेपछि राज्यले तत्काल संरक्षण र सुरक्षित आवासको जिम्मेवारी लिनुपर्ने बताइन् । उजुरी गरेकै कारण रोजगारदाताबाट प्रतिशोध, हिंसा वा थप जोखिम हुन सक्ने भएकाले उद्धार गरिएका बालबालिकालाई सुरक्षित स्थानमा राख्ने व्यवस्था स्पष्ट हुनुपर्ने उनको सुझाव थियो ।

घरेलु श्रममा संलग्न बालबालिकाको अवस्थालाई पनि विधेयकले स्पष्ट रूपमा सम्बोधन गर्नुपर्ने उनले बताइन् । बालश्रममुक्त घोषणा गरिएका क्षेत्र तथा परिवारका बालबालिकालाई विद्यालयमा पुनःएकीकरण गराउने व्यवस्था सुनिश्चित गर्नुपर्ने उनको जोड थियो ।

बालश्रमको मुख्य कारण गरिबी भएकाले रोजगारदातालाई कारबाही गर्ने व्यवस्थासँगै परिवारको आर्थिक अवस्था सुधार गर्ने उपाय पनि कानुनमा समेट्नुपर्ने कार्कीले बताइन् । अति विपन्न परिवारलाई सामाजिक सुरक्षा, अभिभावकलाई सीप तथा रोजगारी, लक्षित आर्थिक सहायता र विद्यालय उमेरका बालबालिकालाई विद्यालयमै टिकाउने कार्यक्रम आवश्यक रहेको उनको सुझाव थियो ।

जन्मदर्ता वा उमेर प्रमाणित गर्ने कागजात नभएका बालबालिकालाई वयस्क ठहर गरी कानुनी संरक्षणबाट वञ्चित गर्न नहुने विषय पनि उनले उठाइन् । उमेर विवाद हुँदा बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकता दिँदै प्रमाण र विशेषज्ञ मूल्याङ्कनका आधारमा निर्णय गर्नुपर्ने उनको प्रस्ताव थियो ।

सांसद कालिबहादुर सहकारीले विद्यालय, स्वास्थ्य संस्था तथा होटललगायत क्षेत्रमा ११–१२ वर्षका बालबालिकासमेत काम गरिरहेको वास्तविकता औँल्याउँदै उमेरअनुसार कामको स्पष्ट मापदण्ड बनाउनुपर्ने बताए । कामको समय, आराम, स्वास्थ्य, पोषण, शिक्षा र व्यक्तित्व विकासमा असर नपर्ने व्यवस्था सुनिश्चित गर्नुपर्ने उनको सुझाव थियो ।

बालश्रम नियन्त्रणका लागि स्थानीय तह, सरकारी निकाय र गैरसरकारी संस्थाको भूमिका स्पष्ट गर्दै नियमित अनुगमनको संयन्त्र बनाउनुपर्ने उनले बताए । गरिबी र बाध्यताका कारण बालबालिका काममा लाग्ने अवस्थालाई सम्बोधन नगरे कानुन कागजमै सीमित हुने उनको भनाइ थियो ।

सांसद प्रकाश पाठकले बालबालिकाको उमेरअनुसार काम, समय र आरामसम्बन्धी व्यवस्था स्पष्ट हुनुपर्ने बताउँदै शरणार्थी तथा सीमापारबाट आएका बालबालिकाको श्रमसम्बन्धी विषय पनि विधेयकमा समेट्नुपर्ने सुझाव दिए । खुला सीमा र शरणार्थी बालबालिकाको अवस्थालाई ध्यानमा राखेर विशेष संरक्षणको व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो ।

त्यस्तै, मुद्दा दायर गर्ने समयसीमा ६ महिनाको प्रस्ताव गरिएको भए त्यसलाई बालबालिकासम्बन्धी ऐनअनुसार एक वर्ष बनाउनुपर्ने उनले बताए । स्थानीय बालकल्याण समितिको भूमिका, राष्ट्रिय बाल अधिकार परिषद्को जिम्मेवारी र स्थानीय तहको अधिकारसमेत स्पष्ट हुनुपर्ने पाठकको सुझाव थियो ।

सांसद गङ्गादेवी श्रेष्ठले बालश्रम पहिले सडक तथा सार्वजनिक क्षेत्रमा बढी देखिने गरे पनि अहिले लुकेर हुने श्रम बढिरहेको भन्दै यसको कारण पहिचान गर्नुपर्ने बताइन् । गरिबी, बेरोजगारी, विपद्, अभिभावक विदेश जाने अवस्था, अभिभावक गुमाएका बालबालिका, छात्रावासबाट बाहिरिएका बालबालिका तथा असमान शिक्षा प्रणालीले बालश्रमको जोखिम बढाउने उनको भनाइ थियो ।

मनोरञ्जन क्षेत्रमा बालबालिकाको श्रमलाई पनि स्पष्ट रूपमा सम्बोधन गर्नुपर्ने उनले बताइन् । दोहोरी, मेला, महोत्सव तथा अन्य मनोरञ्जनात्मक गतिविधिमा कम उमेरका बालबालिका संलग्न हुने अवस्थालाई नियन्त्रण गर्न आवश्यक रहेको उनको सुझाव थियो ।

उद्धारपछि सुरक्षित पुनर्स्थापनाको सुनिश्चितता नभए बालबालिका पुनः जोखिममा पर्न सक्ने भन्दै उनले पुनर्स्थापना संस्थाहरूको अवस्था र तिनको निगरानीसमेत प्रभावकारी बनाउनुपर्ने बताइन् ।

सांसद कृपाराम रानाले विधेयक संविधान र अन्तर्राष्ट्रिय श्रम मापदण्डअनुकूल बनाउनुपर्ने सुझाव दिए । संविधानको धारा ३९ ले बालबालिकाको शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित हेरचाह, खेलकुद, मनोरञ्जन र व्यक्तित्व विकासको अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै विधेयकका प्रावधान ती अधिकारसँग बाझिन नहुने उनको भनाइ थियो ।

बालश्रमसम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का महासन्धि १३८ र १८२ को मर्मलाई समेत ध्यानमा राखेर विधेयकका प्रावधान र अनुसूचीहरू समीक्षा गर्नुपर्ने उनले बताए ।

सांसद सोम शर्माले बालश्रमको समस्या गरिबी, अभिभावकको संरक्षणको अभाव र परिवारको आर्थिक अवस्थासँग जोडिएको भन्दै कानुनसँगै परिवारलाई आर्थिक सुरक्षा र रोजगारीको अवसर दिनुपर्ने बताए । बालबालिका र परिवार दुवैले भविष्यमा राम्रो जीवनको सम्भावना देख्न नसक्नु बालश्रमको प्रमुख कारणमध्ये एक रहेको उनको तर्क थियो ।

समिति सभापति रहबर अन्सारीले विधेयकलाई प्रगतिशील प्रस्तावको संज्ञा दिँदै बालश्रमलाई रोजगारदाताका लागि आर्थिक रूपमा महँगो बनाउने उद्देश्य राखिएको बताए । बालबालिकालाई काममा लगाउँदा सस्तो श्रम उपलब्ध हुने प्रवृत्ति रोक्न जरिवाना, कानुनी जिम्मेवारी र पुनर्स्थापनासम्बन्धी प्रावधानमार्फत रोजगारदातालाई जिम्मेवार बनाउन खोजिएको उनको भनाइ थियो ।