प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी


बेत्रावती, २७ असोज । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा आयोजित विशेष पूजा (घेवा) मा सहभागी भएका छन् ।

नुवाकोटको बेत्रावतीस्थित उत्तरगयाधाममा आज बौद्ध परम्पराअनुसार लामाहरूले पूजा गरेका छन् । पूजामा सहभागी हुँदै प्रचण्डले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

बाढी गएको ४९औँ दिनका अवसरमा मृतकहरूको आत्मशान्तिको कामना गर्दै विशेष पूजा आयोजना गरिएको हो । बाढीबाट घरबारविहीन बनेका परिवारका लागि वाइसीएल नेपालले निर्माण गरेका अस्थायी आवास हस्तान्तरण गर्न नुवाकोट पुगेका प्रचण्ड विशेष घेवामा सहभागी भएर श्रद्धाञ्जली व्यक्त गर्न बेत्रावती पुगेका हुन् ।