राप्रपाले मात्र देशलाई निकास दिन सक्ने लिङ्देनको दाबी


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशको राजनीति अत्यन्तै गम्भीर र अनिश्चित मोडतर्फ धकेलिएको टिप्पणी गरेका छन्। मुलुक हाल अँध्यारो सुरुङमा प्रवेश गरेको उल्लेख गर्दै उनले विद्यमान राजनीतिक अन्योल र संकटबाट देशलाई जोगाउने दायित्व राप्रपाको काँधमा आएको दाबी गरेका छन् ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा अध्यक्ष लिङ्देनले विगतका प्रमुख राजनीतिक दलहरू र तिनका नीति पूर्ण रूपमा असफल भइसकेको जिकिर गर्दै अबको विषम परिस्थितिमा मुलुकलाई स्पष्ट निकास र सबल नेतृत्व दिन सक्ने एक मात्र जीवित राजनीतिक शक्ति राप्रपा नै भएको बताए।

पार्टी संगठन सुदृढीकरणका सन्दर्भमा बोल्दै उनले अब पुराना र परम्परागत कार्यशैलीबाट पार्टी अगाडि बढ्न नसक्ने स्पष्ट पारे। संगठनलाई बलियो र जनमुखी बनाउन नेतादेखि साधारण कार्यकर्तासम्म सबैले आफूलाई बदल्न जरुरी रहेकोमा लिङ्देनले जोड दिए ।

पार्टीका मुख्य वैचारिक एजेन्डाबारे प्रस्ट पार्दै अध्यक्ष लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापना नै राप्रपाको मुख्य लक्ष्य रहेको दोहोर्‍याए ।