काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कुनै पनि व्यक्ति हुन नसक्ने बताएका छन्। नेतृत्वमा रहँदा आफूबाट गल्ती वा कमजोरी भए पार्टीले आफूलाई सभापति पदबाट हटाएर अघि बढ्नुपर्ने उनको भनाइ छ।
शनिबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै थापाले व्यक्तिका गलत कामको जिम्मेवारी पार्टीले लिन नसक्ने स्पष्ट पारे। उनले सभापतिको जिम्मेवारीमा रहँदा आफ्नो व्यक्तिगत, पारिवारिक तथा आर्थिक जीवनका हरेक पक्षमा जिम्मेवार र सचेत रहने प्रतिबद्धतासमेत जनाए।
नेपाली कांग्रेस लाखौँ नेता तथा कार्यकर्ताको त्याग, योगदान, रगत र पसिनाबाट बनेको सार्वजनिक सम्पत्ति भएको उल्लेख गर्दै थापाले कुनै व्यक्तिको गल्तीका कारण पार्टीले क्षति बेहोर्नुपर्ने अवस्था आउन नहुने बताए। नेतृत्वको कमजोरीको भार संस्थाले बोक्दा पार्टी नै कमजोर हुने भएकाले त्यसलाई रोक्न आवश्यक रहेको उनको भनाइ थियो।
‘पार्टी सभापति हुँदै गर्दा मेरो व्यक्तिगत जीवन, परिवार, आर्थिक जीवन र सम्बन्धहरूप्रति म सचेत र जिम्मेवार रहनुपर्छ भन्ने कुरा म बुझ्छु। मेरा कुनै गलत कामले पार्टीलाई असर पर्न सक्छ। त्यसैले, कुनै दिन म चुकेको महसुस भएमा नेपाली कांग्रेसले मलाई सभापतिबाट अलग गरेर अगाडि बढ्नुपर्छ। किनकि व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन,’ थापाले भने।
देशको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सभापति थापाले दसैँको फूलपातीका दिनसमेत हजारौँ युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशिन बाध्य हुनु दुःखद भएको बताए। युवालाई स्वदेशमै सम्मान र स्वाभिमानका साथ जीवनयापन गर्न सक्ने वातावरण निर्माण गर्नु अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो।
रातारात परिवर्तन सम्भव नभए पनि देशमै रोजगारी र अवसर सिर्जना गर्न नेपाली कांग्रेसले इमानदार प्रयास सुरु गर्नुपर्ने उनले बताए।
पार्टीभित्र देखिएका असन्तुष्टि सम्बोधन गर्ने र सबै पक्षलाई मिलाएर अघि बढ्ने जिम्मेवारी आफूले लिने पनि थापाले स्पष्ट पारे।




प्रतिक्रिया