खोटाङ जाँदै गरेको सुमो सुनकोशी नदीमा खस्यो


सिन्धुली । सिन्धुलीको सुनकोशी नदीमा यात्रुवाहक टाटा सुमो खस्दा तीन महिलाको मृत्यु भएको छ भने चालकसहित चार जना घाइते भएका छन्। दुर्घटनामा परी अन्य तीन जना नदीमा बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको टाटा सुमो गएराति करिब २ः३० बजे फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी लोकमार्गबाट अनियन्त्रित भई करिब २०० मिटर तल सुनकोशी नदीमा खसेको हो।

दुर्घटनापछि घटनास्थलमा खटिएको उद्धार टोलीले तीन महिलाको शव फेला पारेको छ। मृतकहरूको पहिचान भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका चार जनालाई उद्धार गरी उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टरमा उपचारका लागि पठाइएको छ। घाइते हुनेमा सुमो चालक ओखलढुङ्गाका २९ वर्षीय आशिष विष्ट, खोटाङको दिक्तेल नगरपालिका–३ की ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी सिवानी राई तथा दिक्तेल नगरपालिका–१ का १३ वर्षीय अंकित विक रहेका छन्। प्रहरीका अनुसार उनीहरूको अवस्था गम्भीर छ।

दुर्घटनामा बेपत्ता भएका तीन जनाको खोजी कार्य जारी रहेको छ। घटनास्थल इलाका प्रहरी कार्यालय खुर्कोटबाट करिब ६० किलोमिटर पूर्वमा पर्दछ।

प्रहरी निरीक्षकको नेतृत्वमा खुर्कोटबाट खटिएको टोलीले घटनास्थलमा पुगेर बेपत्ताहरूको खोजी, उद्धार तथा दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

Skip This