काठमाडौं । बाढीले घरबार गुमाएका परिवारको अवस्था बुझ्न वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमला आज नुवाकोट र रसुवा जाँदैछन्। उनले बाढीपीडितसँग अन्तरक्रिया गरी दशैँ मनाउने अवस्था र पुनःस्थापनाका लागि सरकारले गरिरहेको कामबारे जानकारी लिनेछन्।
धमलाले पीडितका समस्या र आवश्यकताबारे बुझेर आफ्नो तर्फबाट आवश्यक सहजीकरण, समन्वय र सहयोग गर्ने तयारी गरेका छन्। दशैँ नजिकिँदै गर्दा घरबार गुमाएका परिवारको अवस्था बुझ्नुका साथै उनीहरूको समस्या समाधानका लागि पहल गर्ने उद्देश्यले उनी प्रभावित क्षेत्रमा जान लागेका हुन्।
यसअघि धमला हिजो धादिङ पुगेका थिए। त्यहाँ उनले बाढीबाट घरबार गुमाएका परिवारसँग अन्तरक्रिया गरेका थिए। सोही क्रममा घरबारविहीन बनेकी ६५ वर्षीया एकल महिला नानी कान्छी श्रेष्ठलाई घर बनाइदिने घोषणा गरेका थिए। उनले बाढीपीडित परिवारलाई दशैँ मनाउन आर्थिक सहयोगसमेत गरेका थिए।
धमलाले नुवाकोट र रसुवाका बाढीपीडितको अवस्था बुझेर उनीहरूको पुनःस्थापना तथा पुनर्निर्माणका लागि आवश्यक पहल र समन्वय गर्ने जनाइएको छ।




प्रतिक्रिया