बेनी–जोमसोम–कोरला सडकमा करिब १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्बसम्म लाग्ने अनुमान


काठमाडौं । पछिल्लो मनसुनजन्य विपत्तिका कारण चीन र भारतलाई जोड्ने बेनी–जोमसोम–कोरला सडकमा ठूलो भौतिक क्षति पुगेको छ । गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र कालीगण्डकी नदीको कटानले सडकका विभिन्न खण्डमा क्षति पुर्‍याउँदा प्रारम्भिक रूपमा करिब ८० देखि ९० करोड रुपैयाँ बराबरको नोक्सानी भएको अनुमान गरिएको छ ।

क्षतिग्रस्त सडकलाई पूर्ण रूपमा पुरानै अवस्थामा फर्काउन भने ३ देखि ४ अर्ब रुपैयाँसम्म खर्च लाग्ने बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार कालीगण्डकी नदीको बाढीले १० स्थानमा सडक बगाउनुका साथै भत्काएको छ भने अन्य ५० स्थानमा पहिरोका कारण क्षति पुगेको छ ।

प्रारम्भिक मर्मतपछि दुई साताभित्र सडक सञ्चालनमा ल्याइए पनि दीर्घकालीन रूपमा सुरक्षित र दिगो बनाउन थप बजेट आवश्यक पर्ने शर्माले बताए । उनका अनुसार पहिरो नियन्त्रण र नदी कटान रोक्ने कामसँगै म्याग्दी खण्डमा यसअघि डिबिएसडी प्रविधिबाट कालोपत्र गरिएको सडकलाई निर्धारित डिजाइनअनुसार अक्सफाल्ट पिच गर्नुपर्ने अवस्था छ ।

पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङको कोरला नाकासम्म जोडिएको २०२ किलोमिटर लामो सडकमा सबैभन्दा बढी क्षति म्याग्दी खण्डमा भएको छ । उक्त खण्डको करिब ३३ किलोमिटर क्षेत्रमा बाढी, पहिरो र नदी कटानले सडक प्रभावित बनाएको छ । यसअघि नै जोखिमयुक्त मानिएका स्थानमा मात्रै नभई नयाँ क्षेत्रमा समेत पहिरो जाने र नदीले सडक कटान गर्ने समस्या देखिएको छ ।

संघीय सडक सुपरिवेक्षण कार्यालय पोखराका प्रमुख नरेन्द्र सुवेदीले बेनी–जोमसोम–कोरला सडक निर्माण सुरु भएयताकै ठूलो क्षति यसपटक भएको बताए । आर्थिक वर्ष २०७३/७४ मा निर्माण सुरु भएको उक्त सडकका संस्थापक आयोजना प्रमुखसमेत रहेका सुवेदीले पछिल्लो विपत्तिबाट म्याग्दी खण्डमा हालै गरिएको स्तरोन्नतिमा समेत उल्लेख्य क्षति पुगेको जानकारी दिए ।

बाढीपहिरोले सडकमा क्षति पुर्‍याएपछि म्याग्दी खण्डको यात्रा निकै कठिन बनेको छ । यसअघि करिब एक घण्टा तीन मिनेटमा पार गर्न सकिने उक्त दूरी पार गर्न अहिले तीनदेखि चार घण्टासम्म लाग्ने गरेको छ ।

पर्वतको फर्से, केराबारी र लामाबगरदेखि म्याग्दीका तिल्केनीचौर, राहुपारे, बैसरी, सिरुवारी, कुनौटा, महभिर, भिरकाटे, धिरच्याङ, रातोपानी, नौनीबगर, तातोपानी, गुइठेभिर, खामभित्ता र सुकेबगरलगायतका क्षेत्रमा पहिरो तथा कटानले सडकमा ठूलो क्षति पुर्‍याएको छ ।