काठमाडौं । बडादसैँका अवसरमा यात्रुको सहज आवागमनलाई ध्यानमा राख्दै नेपाल प्रहरीले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गरेको छ। सार्वजनिक सवारीसाधनको अभावमा यात्रुले भोग्नुपर्ने समस्यालाई कम गर्ने उद्देश्यले प्रहरीले कात्तिक ३ र ४ गते उपत्यकाका तीनवटा रुटमा बस सञ्चालन गर्न लागेको हो।
प्रहरीका अनुसार निःशुल्क बस सेवा नक्साललाई केन्द्र बनाएर तीनवटा छुट्टाछुट्टै रुटमा सञ्चालन हुनेछ। यसबाट दसैँका बेला आवतजावत गर्ने सर्वसाधारणलाई सुविधा पुग्ने अपेक्षा गरिएको छ।
पहिलो रुट : नक्सालदेखि उपत्यकाका प्रमुख क्षेत्र हुँदै पुनः नक्साल
पहिलो रुटको बस नक्सालबाट सुरु भई बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलङ्की, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, कृष्णपाउरोटी र जयनेपाल हल हुँदै पुनः नक्साल फर्किनेछ।
दोस्रो रुट : नक्सालदेखि भक्तपुर हुँदै पुनः नक्साल
दोस्रो रुटको बस नक्सालबाट रत्नपार्क, बानेश्वर, कोटेश्वर, सल्लाघारी र सूर्यविनायक चोकसम्म पुग्नेछ। त्यसपछि कोटेश्वर, विमानस्थल, गौशाला, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ र बालुवाटार हुँदै पुनः नक्साल फर्किने व्यवस्था मिलाइएको छ।
तेस्रो रुट : नक्सालदेखि उपत्यकाको चक्रपथ तथा प्रमुख चोकहरू हुँदै पुनः नक्साल
तेस्रो रुटको बस नक्सालबाट सोह्रखुट्टे, बालाजु चोक, नयाँ बसपार्क, नारायणगोपाल चोक, चक्रपथ, सुकेधारा, गौशाला, विमानस्थल, कोटेश्वर, सातदोबाटो, एकान्तकुना, बल्खु, कलङ्की, नयाँ बसपार्क, चक्रपथ र महाराजगञ्ज हुँदै पुनः नक्साल फर्किनेछ।
बस सञ्चालनको समय
प्रहरीकाे अनुसार कात्तिक ३ गते तीनवटै रुटमा दिउँसो ४ बजेबाट निःशुल्क बस सेवा सञ्चालन हुनेछ। त्यसैगरी कात्तिक ४ गते बिहान ८ बजे पहिलो सिफ्ट र दिउँसो ३:३० बजे दोस्रो सिफ्टमा बस चलाइनेछ।
दसैँका बेला सार्वजनिक यातायातका साधन कम चल्ने वा यात्रुको चाप बढ्ने अवस्थालाई मध्यनजर गर्दै प्रहरीले सञ्चालन गर्न लागेको यो सेवाले उपत्यकाभित्र यात्रा गर्ने नागरिकलाई राहत पुग्ने विश्वास गरिएको छ।




प्रतिक्रिया