गोलबजारका वडाध्यक्ष पक्राउ


सिरहा । सिरहाको गोलबजार नगरपालिका–११ बलकावाका वडाध्यक्ष सोहेब अनवर पक्राउ परेका छन्। उनलाई आइतबार राति गोलबजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरीका अनुसार उनलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवं प्रवक्ता रमेशबहादुर पालका अनुसार गत साउन १० गते सुनसरीको देवानगञ्ज र साउन १४ गते सिरहाको गोलबजारमा भएको तोडफोड, आगजनी तथा सार्वजनिक शान्तिविरुद्धका घटनामा संलग्न रहेको आरोपमा अनवरविरुद्ध मुद्दा दर्ता गरिएको थियो।

गोलबजारमा भएको तोडफोड तथा आगजनीको घटनामा अनवरको मुख्य भूमिका रहेको आरोप लगाउँदै ‘हिन्दु सम्राट् सेना’ नामक संस्थासँग आबद्ध केही व्यक्तिले करिब दुई महिनाअघि प्रहरीमा जाहेरी दिएका थिए। सोही जाहेरीका आधारमा प्रहरीले उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरेको थियो।

प्रहरीका अनुसार अनवर पछिल्लो समय कहिले ससुरालीतर्फ त कहिले अन्य स्थानमा लुकिछिपी बस्दै आएका थिए। उनी घर आएको अवस्थामा पनि प्रहरीबाट बच्न लुक्ने गरेको सूचनाका आधारमा खोजतलास गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ।