स्वर्णीम वाग्ले र बाबुराम भट्टराईलक्षित झाँक्रीको कटाक्ष, भनिन्– ‘के नेपाली स्वाभिमान कमजोर पार्ने प्रवृत्ति स्वीकारिरहने ?’


काठमाडौँ । नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले अर्थमन्त्री डा. स्वर्णीम वाग्लेको राष्ट्रियतासम्बन्धी अभिव्यक्तिप्रति कटाक्ष गरेकी छन् । भारत भ्रमणका क्रममा वाग्लेले दिएको अभिव्यक्तिलाई लक्षित गर्दै झाँक्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रिय स्वाभिमान र आत्मसम्मानको विषय उठाएकी हुन् ।

झाँक्रीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजनीतिक भूमिकामाथि पनि प्रश्न उठाएकी छन् । भट्टराईतर्फ संकेत गर्दै उनले आफूले निर्माण गरेको संविधान जारी भएपछि आफ्नै घर छाडेको प्रसङ्ग उल्लेख गरेकी छन् ।

‘नेपालका एकजना डाक्टर नेता लामो समयदेखि निरन्तर नेपालविरोधी गतिविधिमा संलग्न थिए । जो आफैँले निर्माण गरेको संविधान जारी भएपछि आफ्नै घरै छोडे, जबकि ७७ र ७ को प्रस्ताव उनकै थियो । यी अंकले के कुराको संकेत गर्छन् भन्नेबारे विभिन्न षड्यन्त्रका सिद्धान्तहरूले आ–आफ्नै व्याख्या गर्छन्,’ झाँक्रीले लेखेकी छन् ।

त्यस्तै, अर्थमन्त्री वाग्लेतर्फ लक्षित गर्दै उनले अर्को पात्रका रूपमा वाग्लेको उदय भएको र उनका अभिव्यक्तिमा नेपाली स्वाभिमानविरोधी तथा हीनभावना झल्किने गरेको आरोप लगाएकी छन् ।

‘फेरि अर्का डाक्टर पात्र खडा भएका छन्, जसले निरन्तर नेपालविरोधी, नेपाली स्वाभिमानविरोधी र हीनभावना झल्किने अभिव्यक्ति दिइरहेका छन्,’ उनले लेखेकी छन्, ‘उनका ट्र्याक रेकर्डहरू हेरौँ, उनले कहाँ, कहिले र के बोलिरहेका छन् भन्ने कुरा केलाउँदै जाऔँ ।’

राजनीतिक वृत्तमा यस्ता थप पात्रहरू देखिन सक्ने उल्लेख गर्दै झाँक्रीले नेपाली नागरिकको राष्ट्रिय स्वाभिमान र आत्मविश्वासको विषयमा प्रश्न उठाएकी छन् ।

‘के हामी नेपाल र नेपाली यस्तै गुलाम, लम्पसारवादी पात्रहरूद्वारा शासित हुन अभिशप्त छौँ ? के नेपाली स्वाभिमानमाथि प्रश्न उठाउने र राष्ट्रिय आत्मविश्वास कमजोर पार्ने प्रवृत्तिलाई हामीले चुपचाप स्वीकार गरिरहने हो ?’ उनले प्रश्न गरेकी छन् ।