काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसद हरिमोहन भण्डारीले भारत भ्रमणका क्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेले दिएको अभिव्यक्तिको पूर्ण समर्थन गरेका छन्।
रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सांसद भण्डारीले अर्थमन्त्री वाग्लेको भनाइको विरोध गर्नुको कुनै तुक नरहेको स्पष्ट पार्दै भारतसँग सहकार्य गरेर अगाडि बढ्नुको विकल्प नरहेको बताएका छन्।
सांसद भण्डारीले नेपाल-भारतबीचका सीमा समस्यालाई कूटनीतिक संवादमार्फत टेबलमा बसेर समाधान गर्नुपर्नेमा जोड दिएका छन्। प्रधानमन्त्री बालेन शाहले भारतीय भूमि नेपालले मिचेको भनी दिएको अभिव्यक्ति सत्य रहेको उल्लेख गर्दै उनले अब यस्ता विषयमा अनावश्यक रुपमा अलमलिनुको सट्टा संवादबाटै निकास निकाल्नुपर्ने बताए। कालापानी, लिम्पियाधुरा र लिपुलेकको विषय रास्वपाको नभई विगतमा बाटो बनाउन अनुमति दिनेहरूसँग जोडिएको उल्लेख गर्दै उनले भने, ‘जसको पालामा बाटो बनाउन दिएको हो, उसैले जवाफ दिने हो। भारतको विरोध गरेर मात्रै राष्ट्रवादी भइँदैन, छिमेकीसँग मित्रवत् सम्बन्ध अघि बढाउनुपर्छ।’
प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार सफल भए मात्र देश सफल हुने दाबी गर्दै उनले जनताले वर्तमान सरकारबाट छिटोभन्दा छिटो परिणाम र वास्तविक परिवर्तन चाहेको बताए।
रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच कुनै पनि किसिमको तिक्तता वा मतभेद नरहेको प्रस्ट पार्दै उनले सभापति लामिछानेले ठूलो त्याग गरेरै बालेनलाई सरकार सञ्चालनको जिम्मेवारी सुम्पिएको बताए।
त्यस्तै, जघन्य अपराधका रूपमा रहेको बलात्कारका घटनामा संलग्नहरूलाई कडाभन्दा कडा सजाय दिनुपर्ने माग गर्दै सांसद भण्डारीले कानुन संशोधन गरेरै भए पनि बलात्कारीलाई फाँसीको कानुनी व्यवस्था गरिनुपर्ने बताए।
तर, आफ्नै पार्टीकी सांसद आशिका तामाङको एक अभिव्यक्तिको भने उनले आलोचना गरेका छन्। सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठ बैतडीस्थित निङ्गलाशैनी भगवती मन्दिरमा महाअष्टमीका दिन परम्परागत रूपमा दिइने बलिका विषयमा सांसद तामाङले दिएको टिप्पणीप्रति आपत्ति जनाउँदै उनले उक्त अभिव्यक्ति फिर्ता लिन माग गरे। धर्म, संस्कृति र संस्कारको उच्च सम्मान गर्नुपर्ने भन्दै भण्डारीले सांस्कृतिक परम्परालाई लक्षित गर्दै आशिकाले पाषाण युग र ढुङ्गेयुग जस्ता शब्द प्रयोग गर्नु उचित नभएको भन्दै उक्त अभिव्यक्ति फिर्ता लिन माग गरेका छन् ।




प्रतिक्रिया