वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण पोखरामै


पोखरा । वैदेशिक रोजगारीका लागि फ्लाई दुबईको उडानमार्फत विदेश जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण पोखरामै सुरु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले कात्तिक १ गतेदेखि सेवा सञ्चालनमा ल्याएको हो ।

युवा, श्रम तथा रोजगार मन्त्रालयले पोखराबाट गन्तव्य मुलुकतर्फ जाने नागरिकको स्वास्थ्य परीक्षण स्थानीय तहमै गर्ने गरी व्यवस्था मिलाउन पत्राचार गरेपछि प्रतिष्ठानले तत्काल कार्यविधि निर्माण गरी सेवा कार्यान्वयनमा ल्याएको हो ।

पोखराबाट फ्लाई दुबईले अन्तर्राष्ट्रिय उडान सञ्चालन गरेसँगै यस क्षेत्रबाट रोजगारीका निम्ति विदेशिने मानिसलाई सहज बनाउन सेवा सुरु गरिएको प्रतिष्ठानका निर्देशक डा. झपिन्द्र पोखरेले बताए ।