अलैंचीको मूल्य प्रतिमन एक लाख रुपियाँ, किसानमा खुसीयाली


इलाम । नगदेबालीका रूपमा रहेको अलैंचीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। इलामको नयाँ बजारमा अलैंचीको मूल्य प्रतिमन एक लाख रुपियाँ पुगेको छ। मुख्य सिजनको यो समयमा अलैंची पहिलोपटक यो दरमा कारोबार भएको स्थानीय व्यापारीले बताएका छन् ।

यस वर्ष इलाममा अलैंचीको उत्पादन सन्तोषजनक र निकै राम्रो रहेको किसानहरू बताउँछन्। अनुकूल मौसम र बढेको उत्पादनका कारण यसवर्ष किसानले कम्तीमा एक मनदेखि ५० मनसम्म अलैंची भित्र्याएको व्यापारीहरूको अनुमान छ। उत्पादन राम्रो हुनुका साथै उच्च मूल्यसमेत पाउन थालेपछि किसान उत्साहित बनेका छन्।

यसैबीच, वैदेशिक व्यापारतर्फ पनि अलैंचीको निर्यात उत्साहजनक देखिएको छ। भन्सार कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा झापाको काँकडभिट्टा नाकाबाट ६३ लाख ८५ हजार ८७० किलो अलैंची बाह्य मुलुकतर्फ निर्यात भएको थियो। सो परिमाणको अलैंची १२ अर्ब ६३ करोड ६९ लाख ७० हजार रुपियाँ बराबरको रहेको छ, जुन अहिलेसम्मकै उच्च निर्यात हो। मुख्य सिजनमै बजार भाउ उकालो लाग्दा यसवर्षको निर्यातबाट अझै ठूलो आर्थिक कारोबार हुने स्थानीय व्यापारीहरुले अनुमान गरेका छन् ।