बालेन सरकार सामाजिक सञ्जाल र स्टन्टमै सीमित भयो: आर्यन राई


काठमाडौँ । श्रम संस्कृति पार्टीका महासचिव आर्यन राईले सरकार जनअपेक्षाअनुसार काम गर्न छाडेर सामाजिक सञ्जाल र अल्गोरिदमको स्टन्टमा मात्रै सीमित भएको आरोप लगाएका छन् ।


रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आपत्ति जनाएका हुन् । भोटेकोशी बाढीबाट क्षति पुगेका संरचना र आवास पुनर्निर्माणमा सरकारले ढिलासुस्ती गरिरहेको बताउँदै उनले पीडितहरूले ५–६ महिनाभित्रै घर पाउने अवस्था नरहेको दाबी गरे ।


‘सबै तह र तप्कासँग सहकार्य गरेर सरकार छिटोभन्दा छिटो पुनर्निर्माणमा लाग्नुपर्ने हो, तर सुस्तगतिका कारण पीडितहरू झन् समस्यामा परेका छन्,’ उनले भने ।


कार्यक्रममा महासचिव राईले परराष्ट्र नीति र सीमाका विषयमा सरकारका प्रतिनिधिहरूले गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाए । अर्थमन्त्री स्वर्णिम वाग्लेको भारत भ्रमणलाई लक्षित गर्दै उनले प्रश्न गरे, ‘अर्थमन्त्री भारतमा गएर लम्पसार पर्नुपर्ने कारण के हो ? पञ्चशीलको आधारमा सबै देशसँग मित्रवत् सम्बन्ध राख्नुपर्छ ।’


प्रधानमन्त्री बालेन शाहले नेपालले पनि भारतको जमिन मिचेको भनी संसद्‌मा दिएको अभिव्यक्ति र अर्थमन्त्री वाग्लेले भारतमा पुगेर भारतको विरोध गरेर राष्ट्रवादी बन्ने युग सकियो भनी दिएको बयान सुनियोजित रहेको उनको दाबी छ ।
‘हाम्रो देशको राष्ट्रवाद कुनै पनि देशको विरुद्धमा हिजो पनि थिएन र आज पनि छैन । हाम्रो राष्ट्रवाद देशको सार्वभौमसत्ता रक्षाका लागि हो’- राईले भने ।


सीमा र राष्ट्रियताको विषयमा सत्ता र प्रतिपक्ष नभई सच्चा नागरिक भएर उभिनुपर्नेमा जोड दिँदै उनले आगामी प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै यो विषय उठाउने र प्रधानमन्त्री तथा अर्थमन्त्रीले संसद्‌मा यसको जवाफ दिनुपर्ने उनले बताए ।


यस्तै, सरकारले गरेका राजदूत र लुम्बिनी विकास कोषको उपाध्यक्ष सिफारिस विवादित बनेको भन्दै उनले विवादमा परेका व्यक्तिहरूलाई विभिन्न निकायमा ल्याउन खोज्नुको कारण स्पष्ट पार्न माग गरे । सोही क्रममा उनले आफ्नो दल श्रम संस्कृति पार्टी कुनै जातीय नभई राष्ट्रिय पार्टी भएको समेत स्पष्ट पारेका छन् ।