‘बालेन शाह जेलेन्स्कीका नयाँ अवतार हुन्’- नेता दाहाल


काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता राजन दाहालले लिपुलेक, लिम्पियाधुरा, कालापानी र सुस्तासहितका सीमा अतिक्रमणको विषय उठाउँदैमा कसैलाई भारतविरोधी भन्न नमिल्ने बताएका छन्। अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत पुगेर दिएको अभिव्यक्ति र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शीर्ष नेताहरूको भू–राजनीतिक अडानप्रति आपत्ति जनाउँदै उनले नेपालको सार्वभौमसत्ता र सीमा सुरक्षाका विषयमा गम्भीर प्रश्न उठाएका हुन्।

रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता दाहालले सुस्ता, कालापानी, लिपुलेक, लिम्पियाधुरा र सीमा पिल्लर भारतले सारेको विषय उठाउनु भारतविरोधी हुनु नभएको स्पष्ट पारे।
‘नेपाल–भारतबीच रोटीबेटी र सांस्कृतिक सम्बन्ध प्रगाढ हुनुपर्छ, त्यसमा दुईमत छैन,’ दाहालले भने, ‘तर आफ्नो भू–भाग फिर्ता माग्नु र मिचिएको सीमाबारे बोल्नु कसरी भारतविरोधी हुनु हो ? भारतमा पुगेर अर्थमन्त्री स्वर्णिम वाग्लेले दिएको अभिव्यक्ति अत्यन्तै खेदजनक छ।’

दाहालले सीमा र राष्ट्रियताका मुद्दामा रास्वपा सरकारका नेतृत्वकर्ताहरू परिचालित भएको गम्भीर आरोप लगाए। रास्वपा सभापति रवि लामिछानेले दिल्ली भ्रमणका क्रममा पुराना विवादित विषय नउठाउने बताएको, बालेन शाहले सदनमा ‘नेपालले पनि भारतको जमिन मिचेको छ’ भन्ने अभिव्यक्ति दिएको र अर्थमन्त्री वाग्लेले ‘भारतको विरोध गरेर राष्ट्रवादी बन्ने युग सकियो’ भनी दिएको बयान एउटै शृङ्खलाको कडी भएको उनको दाबी थियो।

“उनीहरू आफ्नो मालिकको आदेशमा चलिरहेका छन्, जसको पुष्टि हालैको ‘ग्रे जोन’ रिपोर्टले स्पष्ट पारिसकेको छ,” दाहालले भने, “युक्रेनका जेलेन्स्कीको नयाँ अवतारका रूपमा नेपालमा बालेन शाहको उदय भएको छ।”

सीमा र राष्ट्रियता संकटमा परेको चर्चा गर्दै दाहालले फागुन २१ को चुनावपछि कम्युनिष्ट जनमत घटेकाले पार्टीले दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सुरु गरेको जानकारी दिए।

कार्यक्रममा उनले सरकारको आन्तरिक तथा आर्थिक नीतिको पनि तीव्र आलोचना गरे। भोटेकोशी बाढीपछिको उद्धार, राहत, अस्थायी आवास र बूढीगण्डकी पीडितका लागि सरकारको उपस्थिति हप्तौँसम्म नदेखिएको र प्रधानमन्त्री राहत कोषको रकम फजुल खर्च गरिएको उनको आरोप थियो।

साथै, शिक्षा, स्वास्थ्य र बिजुलीमा भ्याट लगाएर सरकारले ‘गरिबमारा बजेट’ ल्याएको भन्दै उनले अर्थमन्त्री वाग्लेले नेपालको वस्तुस्थिति नबुझेको टिप्पणी गरे। विगत ३५ वर्षमा विकासका केही काम नै भएनन् भन्ने भ्रामक भाष्य खडा गर्न खोजिएको भन्दै दाहालले त्यस अवधिमा बाटोघाटो, शिक्षा, विद्युतीकरण र ग्रामीण विकासमा उल्लेखनीय काम भएको दाबी गरे।

बहुराष्ट्रिय कम्पनीलाई लखेट्ने र व्यवसायीहरूलाई आतंकित बनाउने काम सरकारबाट भएको भन्दै नेता दाहालले दुई महिने जनजागरण अभियान सकिएलगत्तै सरकारका स्वेच्छाचारी र गैरजिम्मेवार कदमविरुद्ध सडक आन्दोलनमा उत्रने चेतावनी दिए।