अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बर्खास्त गर्न एमाले नेता बाँस्कोटाको माग


काठमाडौँ । नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई तत्काल पदबाट बर्खास्त गर्न माग गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापतिसमेत रहेका अर्थमन्त्री वाग्लेले हालै भारतमा दिएको अभिव्यक्तिको तीव्र विरोध गर्दै नेता बाँस्कोटाले उनलाई ‘नव लेन्डुप’को संज्ञा दिँदै मन्त्रिपरिषद्‌बाट हटाउन आग्रह गरेका हुन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बाँस्कोटाले वाग्लेको नामै नलिई राष्ट्रियताविरोधी कदम चालेको आरोप लगाएका छन्। राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहको कूटनीतिक दिव्योपदेश स्मरण गराउँदै उनले अर्थमन्त्री वाग्लेको तिखो आलोचना गरे।

बाँस्कोटाले लेखेका छन्, “न राष्ट्रसंघ, न युनिभर्सिटीको पीएचडीको खोस्टो थियो उनीसँग। तर पृथ्वीनारायण शाहले परराष्ट्र सम्बन्धलाई ‘झुकी कटक–जाई कटक’ र ‘दुई ढुङ्गाको तरुल’को सुत्रमा बाँधेका थिए। अहिले बेपर्वाह नवलेण्डुप उफ्रने ? किक आउट हिम, पीएम !”

बाँस्कोटाले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रत्यक्ष सम्बोधन गर्दै अर्थमन्त्रीलाई बर्खास्त गर्न माग गरेका हुन्।

गएको कात्तिक ६ गते भारतमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा सम्बोधनका क्रममा अर्थमन्त्री वाग्लेले “नेपालमा भारतविरोधी राष्ट्रवादको युग सकिएको” अभिव्यक्ति दिएका थिए। दिल्लीमा साखुल्ले बन्ने होडमा दिएको उक्त अभिव्यक्तिलाई राष्ट्रघाती र सार्वभौमसत्ताप्रतिको गैरजिम्मेवार कदम भन्दै चौतर्फी विरोध भइरहेको छ।