चक्रवात ‘अर्नब’को त्रास: भारतमा जनजीवन अस्तव्यस्त, नेपालमा भारी वर्षा र हिमपातको जोखिम


काठमाडौँ । बंगालको खाडीबाट उठेको शक्तिशाली चक्रवात ‘अर्नब’का कारण भारतको तटीय क्षेत्रमा व्यापक क्षति पुग्नुका साथै नेपालमा समेत यसको प्रत्यक्ष असर पर्ने सम्भावना बढेको छ। चक्रवातको पूर्वतयारी तथा सम्भावित जोखिम न्यूनीकरणका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएको छ।

मौसम पूर्वानुमान महाशाखा तथा गृह मन्त्रालयका अनुसार बिहीबार रातिदेखि शनिबारसम्म नेपालका कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना छ। साथै, उच्च पहाडी तथा हिमाली भू–भागहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले विशेष सजगता अपनाउन आग्रह गरिएको छ।

मौसममा आउने यस परिवर्तनलाई ध्यानमा राख्दै अध्यागमन विभागले आगामी कात्तिक १२ देखि १४ गतेसम्म हिमाली क्षेत्रमा पदयात्रा नगर्न अपिल गरेको छ। त्यसैगरी, हिमाली क्षेत्रमा पूर्ववत् रहेका पर्यटक तथा पर्वतारोहीहरूलाई तत्काल सुरक्षित स्थानमा रहन निर्देशन दिइएको छ। कृषि क्षेत्रमा पर्न सक्ने क्षति घटाउन किसानहरूलाई काट्न बाँकी धानबाली तुरुन्त भित्र्याउन र सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक यात्रा नगर्न सरकारले अनुरोध गरेको छ।

यस्तै, बंगालको खाडीमा तीव्र बनेको चक्रवात ‘अर्नब’ले छिमेकी भारतको आन्ध्र प्रदेशमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बुधबार बिहान आन्ध्र प्रदेशको तटमा प्रहार गरेको यस चक्रवातका कारण तटीय क्षेत्रको जनजीवन पूर्ण रूपमा अस्तव्यस्त बनेको छ।

राज्यको विपद् व्यवस्थापन प्राधिकरणका अनुसार तटमा प्रवेश गर्दा चक्रवातको गति केही कम भए पनि हावाको अधिकतम वेग प्रतिघण्टा १८५ किलोमिटरसम्म पुगेको थियो। तीव्र हावाहुरी र भारी वर्षाका कारण तटीय जिल्लाहरू जलमग्न भएका छन् भने कैयौँ रेल सेवा तथा हवाई उडानहरू रद्द गरिएका छन्।

जोखिमयुक्त तल्लो भू–भागबाट हालसम्म ८९ हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित आश्रयस्थलमा सारिएको छ। अधिकारीहरूका अनुसार चक्रवातको सम्भावित मार्गमा करिब एक करोड २० लाख मानिस बसोबास गर्छन्। सम्भावित मानवीय क्षति रोक्न २० जिल्लामा दुई हजारभन्दा बढी चक्रवात आश्रयस्थलहरू निर्माण गरिएका छन् भने लाखौँ मानिसलाई मोबाइलमा आपत्कालीन चेतावनी सन्देश पठाइएको छ।