काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को ललितपुरको सातदोबाटोस्थित केन्द्रीय कार्यालय चार महिनापछि खुलेको छ । वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा बहुमत सदस्यले कार्यालयको ताला खोलेका हुन् ।
कार्यालय खुलेपछि खड्काको नेतृत्वमा सदस्यहरूबीच छलफल भएको थियो । छलफलमा वरिष्ठ उपाध्यक्ष खड्कासहित विराटजंग शाही, दीपक खतिवडा, कुमार केसी, रुपेश अधिकारी, टीका लामा, भरत बुढा थापा, महेन्द्र क्षेत्री र मनिष जोशीलगायत सहभागी थिए ।
छलफलले आगामी कात्तिक १३ गते कार्यसमिति बैठक बोलाउने निर्णय गरेको सहभागी एक सदस्यले जानकारी दिए ।
एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई विधानअनुसार कार्यसमिति बैठक बोलाउन लिखित रूपमा माग गरिए पनि बैठक नडाकिएपछि कार्यालयको ताला खोलेर बैठक बोलाउने निर्णय गरिएको हाे ।
कात्तिक १३ गते बस्ने भनिएको बैठकबाट आवश्यक निर्णय गरी एसियाली फुटबल महासंघ (एएफसी) र विश्व फुटबल महासंघ (फिफा) लाई पत्राचार गर्ने तयारीसमेत गरिएको छ ।
एन्फा अध्यक्ष नेम्वाङसहितका पदाधिकारीविरुद्ध भने केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खेल ठगीसम्बन्धी कसुरमा मुद्दा चलाएको छ ।




प्रतिक्रिया