सुरक्षा व्यवस्था चुस्त बनाउन आईजीपी कार्कीको निर्देशन


काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नजिकिँदै गरेका दीपावली, नेपाल संवत् र छठलगायतका चाडपर्वलाई लक्षित गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउन प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।

बुधबार प्रहरी प्रधान कार्यालयबाट भर्चुअल सम्बोधन गर्दै उनले चोरी, लुटपाट, जुवातास, पटका कारोबार तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न विशेष सुरक्षा योजना बनाएर प्रहरी परिचालन गर्नुपर्ने बताए।

उनले सवारी दुर्घटना न्यूनीकरण, मादक पदार्थ सेवन गरी सवारी चलाउने कार्य नियन्त्रण, सीमा क्षेत्रमा हुने तस्करी रोकथाम तथा फरार प्रतिवादी पक्राउलाई प्राथमिकता दिन पनि निर्देशन दिए।

त्यस्तै, काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को सुरक्षा व्यवस्थापनमा कुनै कमजोरी हुन नदिन र अनलाइन बेटिङमा संलग्नलाई कानुनी दायरामा ल्याउन उनले जोड दिए। सम्भावित खराब मौसमबाट हुन सक्ने जोखिम न्यूनीकरण, नागरिकका गुनासो सम्बोधन तथा प्रहरीको व्यावसायिकता र अनुशासन कायम राख्नसमेत उनले निर्देशन दिएका छन्।