दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित


काठमाडौं । कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा सुदूरपश्चिम रोयल्सले एनपीएलको तेस्रो संस्करणमा पहिलो जित निकालेको छ। सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको हो।

पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। दीपेन्द्रले ३६ बलमा ४ चौका र २ छक्कासहित ५० रन बनाए भने इशान पाण्डेले ३७ रनको योगदान दिए।

त्यसअघि पोखराले २० ओभरमा ७ विकेट गुमाएर १४५ रन बनाएको थियो। अर्जुन घर्तिमगरले अविजित ४० र महेदी हसनले ३२ रन बनाए। सुदूरपश्चिमका अनिल खरेलले ३ विकेट लिए।