डडेल्धुरामा किबीखेती विस्तार


डडेल्धुरा, १२ कात्तिक । जिल्लामा किबीखेती विस्तार हुँदै गएको छ । जिल्लामा किबीखेती विस्तारसँगै व्यावसायिक रूपमा खेती गर्ने किसानको सङ्ख्या पनि बढ्दै गएको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा हाल २३ हेक्टर क्षेत्रफलमा किबीखेती भइरहेको छ । गत आर्थिक वर्षमा जिल्लामा १९ मेट्रिकटन किबी उत्पादन भएको केन्द्रका कार्यालय प्रमुख नरेन्द्र पनेरुले बताए । अघिल्लो वर्ष १९ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट १० मेट्रिकटन किबी उत्पादन भएको उनले बताए ।

उत्पादन बढ्दै गए पनि किबीको बजार मूल्य भने घट्दै गएको किसान बताउँछन् । अमरगढी नगरपालिका–३ चिर्किट्टेका किसान प्रजापति पनेरुका अनुसार पाँच वर्षअघि प्रतिकिलो ४०० रुपैयाँभन्दा बढीमा बिक्री हुने किबीको मूल्य अहिले घटेर १५० रुपैयाँसम्म पुगेको छ । कैलाली र कञ्चनपुरलगायत बजारमा व्यापारीले किसानको बारीबाटै किबी खरिद गरेर लैजाने गरेका छन् ।

आलिताल गाउँपालिका–२ लामिटँुडाका लक्ष्मण थापामगरले २०७२ सालमा दोलखाबाट ११६ वटा किबीका बिरुवा ल्याएर खेती सुरु गरेको थियो । अहिले उनको बगैँचामा ३०० भन्दाबढी किबीका बोट छन् । खेतीसँगै उनले किबीको नर्सरीसमेत सञ्चालन गर्दै आएको छ । गत वर्ष उहाँले ७५ क्विन्टल किबी बिक्री गरेको थियो ।

त्यस्तै, नेपाली सेनाबाट अवकाशपछि अमरगढी नगरपालिका–२ कुस्मालीका खडक थापामगर पनि किबीखेती र नर्सरी व्यवसायमा संलग्न भएको छ । उनले रातो र पहेँलो किबीको बिरुवा प्रतिगोटा २०० रुपैयाँ तथा हरियो किबीको बिरुवा १५० रुपैयाँमा बिक्री गर्दै आएको छ ।

किबीखेतीलाई प्रोत्साहन गर्न कृषि ज्ञान केन्द्रले बगैँचा व्यवस्थापन, थाक्रा निर्माण, मल तथा बिरुवा खरिदमा ५० प्रतिशत अनुदान सहयोग गर्दै आएको छ । केन्द्रका अनुसार गत आवमा किबी बगैँचा व्यवस्थापन तथा प्रवर्द्धनका लागि १५ लाख रुपैयाँ खर्च गरिएको थियो ।

किबीखेती विस्तार हुँदै गए पनि उत्पादनको उचित मूल्य र बजार व्यवस्थापन किसानका लागि चुनौती बनेको छ । उत्पादन बढेसँगै बजार विस्तार र मूल्य सुनिश्चित गर्नसके जिल्लामा किबी खेतीलाई थप व्यावसायिक बनाउन सकिने किसानहरु बताउँछन् ।