एलपी ग्यास पर्याप्त, वितरण अस्तव्यस्त: उपभोक्तालाई चुलो बाल्नै सकस


काठमाडौं । मुलुकमा एलपी ग्यासको आयातमा उल्लेख्य वृद्धि भए पनि बजारमा भने अभाव कायमै रहेको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ग्यासको आयात २४ प्रतिशतभन्दा बढीले बढेको तथ्यांक देखिए पनि प्रभावकारी वितरण प्रणालीको अभावमा उपभोक्ताहरूले सहज रूपमा इन्धन पाउन सकेका छैनन्।

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिना (साउनदेखि असोज मध्यसम्म) मा एलपी ग्यासको आयात २३.३४ प्रतिशतले बढेको छ। यस अवधिमा २३ अर्ब १८ करोड रुपैयाँ बराबरको १ लाख ७१ हजार ९८४ टन ग्यास भित्रिएको छ।

गत वर्षको तुलनामा यस वर्ष साउन, भदौ र असोज तीनै महिनामा आयातको ग्राफ उकालो लागेको छ। तथ्यांक हेर्दा: साउनमा ५७,३३४ टन, भदौमा ५९,८३३ टन, असोजमा ५४,८१६ टन आयात भएको छ ।

भदौको तुलनामा असोजमा आयात केही सामान्य घटेको देखिए पनि समग्रमा आयातको परिमाण उच्च नै छ। तर, कागजी रूपमा आयात बढेको देखिए पनि बजारमा उपभोक्ताहरूले भने भरिएको सिलिन्डर पाउन सास्ती व्यहोर्नुपरिरहेको छ।

नेपालको इन्धन आपूर्ति बाह्य कारणले पनि केही समय प्रभावित बनेको थियो। इरानले अन्तर्राष्ट्रिय ऊर्जा ढुवानीको प्रमुख मार्ग मानिने ‘हर्मुज जलमार्ग’ बन्द गरेपछि विश्वव्यापी आपूर्ति प्रणालीमै प्रत्यक्ष असर पर्‍यो। यसको सिधा प्रभाव एलपी ग्यास आयातमा परेको थियो। बाह्य कारणले आपूर्ति खलबलिए पनि त्यसलाई सन्तुलनमा राख्न आन्तरिक संयन्त्र भने पूर्णरूपमा असफल देखिएको छ।

बजारमा देखिएको अभाव र संकट टार्न सरकारले विभिन्न समयमा निर्णयहरू त गर्‍यो, तर ती सबै कागजी र अप्रभावकारी साबित भए। गत चैतमा बजारको अभाव कम गर्न भन्दै सरकारले ‘आधा भरिएका सिलिन्डर’ पठाउने निर्णय गर्यो। त्यसले समस्या समाधान गर्नुको साटो उपभोक्तालाई झन् अन्योलमा पार्‍यो। त्यस्तै, असार ३० गते पुनः १४.२ केजीकै नियमित सिलिन्डर पठाउने निर्णय गरिए पनि कार्यान्वयन पक्ष फितलो हुँदा बजारमा अभाव ज्युँका त्युँ छ ।

आयातको परिमाणले बजारमा ग्यास पर्याप्त रहेको देखाए पनि वितरण प्रणाली चुस्त नहुँदा सर्वसाधारण उपभोक्ताले सास्ती भोग्नुपरेको छ।