काठमाडौं । संयुक्त राष्ट्रसंघका लागि नेपाली राजदूत लोकबहादुर थापा र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबिच भेटवार्ता भएको छ ।
भेटमा राजदूत थापाले नेपालमा हालै आएका विपत्तिमा राष्ट्रसंघका निकायले गरेको सहयोगप्रति नेपाल सरकारका तर्फबाट धन्यवाद व्यक्त गरेका छन् । राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका अनुसार महासचिव गुटेरेसले विपत्तिप्रति समवेदना व्यक्त गर्दै बहुपक्षीय सहयोग अघि बढाउन नेपालले खेलेको भूमिकाको प्रशंसा गरेका छन् ।
गुटेरेसले अल्पविकसित राष्ट्रहरूको अध्यक्षतामार्फत विकासका लागि वित्तपोषणसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनको सहजीकरण तथा राष्ट्रसंघको पहिलो समितिको अध्यक्षलगायतका प्रक्रियामा नेपालले पुर्याएको योगदानको चर्चा गरेका थिए ।
उनले जलवायु परिवर्तनविरुद्ध नेपालको निरन्तर वकालत तथा विश्व शान्ति र सुरक्षामा नेपाली सेना र प्रहरीले पुर्याएको योगदानको पनि प्रशंसा गरेका थिए ।
भेटमा जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परिरहेको असर, पूर्वचेतावनी प्रणालीको सुदृढीकरण, जलवायुजन्य विपत्तिविरुद्ध उत्थानशीलता बढाउने तथा विश्वव्यापी जलवायु कार्यलाई अघि बढाउने विषयमा पनि छलफल भएको नियोगले जनाएको छ ।




प्रतिक्रिया