भोटेकोशी बाढीको क्षति ७ खर्ब नाघ्ने अनुमान, तिहारअघि पूर्ण विवरण सार्वजनिक गरिने


काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षतिको विस्तृत विवरण सरकारले तिहारअघि सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले क्षतिको मूल्याङ्कन सकेर प्रतिवेदनलाई अन्तिम रूप दिइरहेका छन् ।

क्षतिको विवरण सङ्कलनका लागि २५० भन्दा बढी कर्मचारी एक महिनाभन्दा लामो समय प्रभावित क्षेत्रमा खटिएका थिए । उनीहरूले २४ वटा क्षेत्र छुट्याएर सडक, पुल, भवन, खानेपानी, जलविद्युत्, कृषि, विद्यालय तथा अन्य पूर्वाधारमा भएको क्षतिको अध्ययन गरेका छन् ।

राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजङ्ग थापाका अनुसार बाढीबाट भएको क्षति र पुनर्निर्माणका लागि करिब ७ खर्ब रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान छ । विस्तृत प्रतिवेदन तिहारअघि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने तयारी छ ।

प्रारम्भिक मूल्याङ्कनअनुसार बाढीबाट सरकारी तथा निजी क्षेत्रको गरी ४ खर्ब ८ अर्ब २८ करोड रुपैयाँभन्दा बढीको क्षति तथा नोक्सानी भएको छ । त्यसमध्ये करिब ३ खर्ब रुपैयाँ बराबरको क्षति निजी क्षेत्रको रहेको अनुमान छ ।

बाढीबाट आर्थिक गतिविधि तथा जनजीवनमा समेत ठूलो असर परेको छ । प्रारम्भिक विवरणमा १ खर्ब ४६ अर्ब १९ करोड रुपैयाँ बराबरको आर्थिक तथा जीविकोपार्जनमा क्षति पुगेको उल्लेख छ ।

प्राधिकरणले यसअघि पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि ७ खर्ब २३ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी आवश्यक पर्ने प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिसकेको छ । विस्तृत अध्ययनबाट पनि सोही हाराहारीमा पुनर्निर्माण खर्च लाग्ने देखिएको आयोगका सदस्य थापाले बताएका छन् ।

सरकारले प्रभावित क्षेत्रका स्थानीय तहसँग समन्वय गरेर सङ्कलन गरेको विवरणका आधारमा विपद्पछिको आवश्यकता मूल्याङ्कन (पीडीएनए) प्रतिवेदन तयार गरिरहेको छ । उक्त प्रतिवेदनले बाढीबाट भएको मानवीय, आर्थिक, सामाजिक तथा भौतिक क्षतिको पूर्ण विवरणसहित पुनर्निर्माणको योजना समेट्नेछ ।