समयमै काम सम्पन्न नगर्ने ६ निर्माण कम्पनी कालोसूचीमा


काठमाडौँ । सरकारले सम्झौताअनुसार काम सम्पन्न नगर्ने तथा सर्त उल्लङ्घन गर्ने ६ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई १ देखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखेको छ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसमा ती कम्पनीलाई कालोसूचीमा राखेको हो।

कार्यालयका अनुसार निलगिरी निर्माण सेवा प्रालि (काठमाडौँ) र लुम्बिनी इन्जिनियरिङ वर्क्स प्रालि (बुटवल) लाई ३/३ वर्षका लागि कालोसूचीमा राखिएको छ। त्यस्तै, हरिहरि–शर्मिला जेभी (घोराही, दाङ) लाई २ वर्षका लागि कालोसूचीमा राखिएको छ।

यसैगरी, विन्ध्यवासिनी निर्माण सेवा (गोरखा), अनुपमा निर्माण सेवा (गोरखा) र सौरभ कन्स्ट्रक्सन (इटहरी) लाई १/१ वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ (१) बमोजिम कालोसूचीमा परेका यी कम्पनीहरूले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रिया तथा ठेक्कापट्टामा सहभागी हुन पाउने छैनन्।