काठमाडौं । सरकारले युवाहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी व्यावहारिक सीप प्रदान गर्न निःशुल्क अनलाइन तालिम सञ्चालन गर्ने भएको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले कात्तिक १८ र १९ गते ‘एआईको प्रभावकारी प्रयोग तथा प्रम्प्ट लेखन’ विषयमा तालिम दिन लागेको हो।
तालिम चार सत्रमा सञ्चालन हुनेछ। बिहान १० देखि १२ र साँझ ६ देखि ८ बजेसम्म हुने तालिममा प्रतिसत्र ५०० जनाका दरले कुल २ हजार युवाले सहभागिता जनाउन पाउनेछन्।
तालिममा ChatGPT र Claude लगायतका एआई उपकरण प्रयोग गर्ने, प्रभावकारी प्रम्प्ट लेख्ने, इमेल तथा प्रस्तुतीकरण तयार गर्ने, तस्बिर र भिडियो बनाउने र एआईबाट प्राप्त सूचनाको सत्यता जाँच गर्ने सीप सिकाइनेछ।
मन्त्रालयका अनुसार युवालाई अध्ययन, रोजगारी तथा व्यावसायिक क्षेत्रमा एआईको प्रभावकारी प्रयोग गर्न सक्षम बनाउने उद्देश्यले कार्यक्रम ल्याइएको हो।
तालिममा सहभागी हुन इच्छुक युवाले अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। छनोट भएका सहभागीलाई तालिमको सत्रबारे जानकारी गराइने प्रतिष्ठानले जनाएको छ।




प्रतिक्रिया