बाराको फेटा घटना छानबिन गर्न समिति गठन


जनकपुरधाम । बाराको फेटा गाउँपालिकामा अस्पताल उद्घाटनका क्रममा भएको झडप र गोली प्रहारको घटनाबारे मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रभुप्रसाद ढकालको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो। समितिलाई घटनाको छानबिन गरी छिटो प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।

शनिबार १५ शय्याको नवनिर्मित अस्पताल उद्घाटन कार्यक्रममा झडप हुँदा प्रहरीले चलाएको गोली लागेर स्थानीय युवक आदित्य पासवान घाइते भएका थिए। प्रदर्शनकारीको ढुंगामुढाबाट पाँच प्रहरी घाइते भएका छन् भने १० वटा मोटरसाइकलमा आगजनी भएको थियो। अस्पतालको शिलालेखसमेत तोडफोड गरिएको थियो।

घटनापछि इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक सुमन लामाको जिम्मेवारीसमेत खोसिएको छ।

रास्वपाकी सांसद समीक्षा बाँस्कोटा सहभागी अस्पताल उद्घाटन कार्यक्रम रोक्न एमालेले यसअघि नै चेतावनी दिएको थियो। कार्यक्रम सञ्चालन भएपछि एमाले र रास्वपा कार्यकर्ताबीच विवाद बढ्दै झडप भएको बताइएको छ।