कांग्रेसको नयाँ कार्यसमितिको विवरण सोमबार निर्वाचन आयोगमा अद्यावधिक गरिने


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको विवरण निर्वाचन आयोगमा सोमबार (कात्तिक १६) अद्यावधिक गरिने भएको छ। आवश्यक कागजात तथा विवरण संकलनको काम पूरा नभएपछि शुक्रबार गर्ने भनिएको अद्यावधिक प्रक्रिया सोमबारका लागि सारिएको हो।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार नयाँ कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यको पूर्ण विवरणसहित आवश्यक कागजात तयार पार्ने काम आइतबार पनि जारी रहेको छ।

बिहीबार शपथग्रहणपछि बसेको केन्द्रीय कार्यसमितिको पहिलो बैठकले निर्वाचन आयोगमा पार्टीको विवरण अद्यावधिक गराउने जिम्मेवारी कार्यवाहक मुख्यसचिव दुलाललाई दिएको थियो।

राजनीतिक दलसम्बन्धी कानुनी व्यवस्थाअनुसार पार्टीको केन्द्रीय पदाधिकारी तथा सदस्यको निर्वाचन सम्पन्न भएपछि त्यसको विवरण निर्वाचन आयोगमा अद्यावधिक गराउनुपर्ने प्रावधान छ।

कांग्रेसको १५औँ महाधिवेशन असोज १८ देखि २३ गतेसम्म काठमाडौंको खुलामञ्चमा सम्पन्न भएको थियो। महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित भएका थिए। त्यस्तै, २० पदाधिकारी र २११ केन्द्रीय सदस्य चयन भएका थिए।

महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले बिहीबार सानेपास्थित पार्टी कार्यालयमा पहिलो बैठकसमेत गरेको थियो। सोही बैठकले आयोगमा विवरण अद्यावधिक गराउने निर्णय गरेको हो।

यद्यपि, नवनिर्वाचित कार्यसमितिका १३ जनाको शपथग्रहण अझै बाँकी छ। बिहीबार वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मासहित १९ पदाधिकारी र १९८ केन्द्रीय सदस्यले शपथ लिएका थिए।

प्रहरी अनुसन्धानको दायरामा रहेका विनिता खड्का, मोहनबहादुर बस्नेत, सन्तोष चालिसे र उमेशचन्द्र यादवको हकमा अनुसन्धान टुंगो नलागेसम्म शपथ प्रक्रिया स्थगित गरिएको छ। बाँकी नौजनालाई उपस्थित भएका बेला आन्तरिक रूपमा शपथ गराइने निर्वाचन समितिले जनाएको छ।