डोल्पा कारागारबाट फरार दुई कैदी रुकुम पश्चिममा पक्राउ


१७ कात्तिक, सुर्खेत । डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ कैदीमध्ये दुई जना रुकुम पश्चिममा पक्राउ परेका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सन्तोषसिंह राठौरका अनुसार मंगलबार बिहान करिब १०ः३० बजे आठबिसकोट नगरपालिका–६ दामाचौरस्थित खोली बगरबाट उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

चौरजहारी बेस क्याम्प र गोतामकोट प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक बुद्धिराम वलीको नेतृत्वमा खटिएको पाँच सदस्यीय टोलीले खोजी गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।

गत कात्तिक १४ गते बिहान ६ बजे डोल्पाको ठूलीभेरी नगरपालिका–३ स्थित जिल्ला कारागारबाट सुरुङमार्फत फरार भएका कैदीहरूको खोजी भइरहेको थियो । सोही क्रममा दामाचौरबाट आठबिसकोट नगरपालिका–९ राडीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०८३१ नम्बरको जिपलाई प्रहरीले जाँच गरेको थियो । जाँचका क्रममा जिपमा सवार उनीहरूले भाग्ने प्रयास गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सोधपुछपछि उनीहरू कारागारबाट फरार भएका कैदी रहेको खुलेको प्रवक्ता राठौरले बताए ।

पक्राउ पर्नेमा आठबिसकोट नगरपालिका–१०, रुकुम पश्चिमका ३२ वर्षीय रामबहादुर बिक र कुमाख गाउँपालिका–५, सल्यानका २८ वर्षीय रेशम राना रहेका छन् । दुवै जना जबर्जस्ती करणीसम्बन्धी मुद्दामा सजाय भोगिरहेका कैदी हुन् ।

प्रहरीका अनुसार पक्राउ परेका दुवै जनालाई हाल गोतामकोट प्रहरी चौकीमा राखिएको छ । कारागारबाट फरार भएका आठ जनामध्ये हालसम्म दुई जना पक्राउ परेका छन् भने बाँकीको खोजी जारी छ ।