काठमाडौँ । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्यालसँग भेट गरी विपक्षी दलहरूको बैठकले गरेका निर्णयबारे जानकारी गराएका छन् ।
मंगलबार दिउँसो सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा आङ्देम्बेले सोमबार बसेको विपक्षी दलहरूको बैठकका निष्कर्ष र निर्णयबारे जानकारी गराएका हुन् ।
सोमबार नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपाललगायत विपक्षी दलहरूको बैठक बसेको थियो । उक्त बैठकले संघीय संसद्को अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गर्ने निर्णय गरेको थियो ।
विपक्षी दलहरूले सञ्चारगृहमा प्रहरी प्रवेश, पत्रकार पक्राउ, न्यायालयमा बिचौलियाको गतिविधि, कर्मचारीतन्त्रमा बढ्दो त्रास र सरकारको कार्यशैलीलगायतका विषयमा संसद्मा छलफल गर्नुपर्ने निष्कर्ष निकालेका थिए ।
यिनै विषयमा संसद्मा छलफलको वातावरण बनाउन अधिवेशन आह्वान गर्नुपर्ने मागसहित बैठकका निर्णयबारे आङ्देम्बेले सभामुख अर्याललाई अवगत गराएका हुन् ।




प्रतिक्रिया