आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता


दाङ, १७ कात्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा अन्धोपन तथा दृष्टिदोष न्यूनीकरणका लागि आँखा स्वास्थ्य सेवालाई प्राथमिकता दिँदै लगानी बढाउने बताएका छन् ।

नेपाल नेत्रज्योति सङ्घले आज लमहीमा आयोजना गरेको आँखा स्वास्थ्य सेवा र कार्बन उत्सर्जनसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा उनले आँखा उपचार सेवाको पहुँच सबै नागरिकसम्म पुर्‍याउन प्रदेश सरकारले योजनाबद्ध रूपमा काम गर्ने बताए । सङ्घले तयार पारेको पाँच वर्षे रणनीतिक योजना कार्यान्वयनमा पनि प्रदेश सरकारले प्राथमिकता दिने उनको भनाइ थियो ।

सङ्घको अध्ययनअनुसार लुम्बिनी प्रदेशमा ५० वर्ष वा सोभन्दा माथिका १३ हजार ९४ जना अन्धोपनबाट प्रभावित छन् । यस उमेर समूहमा दुवै आँखाको अन्धोपनको दर १।७ प्रतिशत छ । त्यस्तै, ६र१२ भन्दा कम दृश्य तीक्ष्णता भएका दुई लाख सात हजार ९५७ जना रहेका छन् ।

अध्ययनले विशेषगरी ग्रामीण तथा विपन्न समुदायमा आँखा उपचार सेवाको पहुँच असमान रहेको, दक्ष जनशक्तिको अभाव रहेको तथा उपचारपछिको अनुगमन प्रणाली कमजोर रहेको औँल्याएको छ ।

लुम्बिनी प्रदेशका पाँच र कर्णाली प्रदेशको एक गरी छ वटा अस्पतालमा गरिएको कार्बन उत्सर्जनसम्बन्धी अध्ययनले अस्पताललाई वातावरणमैत्री बनाउन बायोग्यास, इन्डक्सन र सौर्य ऊर्जाको प्रयोग बढाउन सुझाव दिएको छ ।