१८ कात्तिक, काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विदेशमा समस्यामा परेका नेपाली नागरिकको समयमै उद्धार र सुरक्षित स्वदेश फिर्तीलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने बताएकी छन् ।
बुधबार काठमाडौंमा प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशन उद्घाटन गर्दै उनले विदेशमा रहेका नेपालीको सुरक्षा र हित संरक्षण गर्नु राज्यको दायित्व भएको बताइन् ।
भण्डारीले नेपालका जलस्रोत, वन, जडीबुटी, कृषि, खनिज तथा प्राकृतिक सम्पदाको दिगो र वातावरणमैत्री उपयोग गर्नुपर्नेमा जोड दिइन् । जलविद्युत्, खाद्य प्रशोधन, जडीबुटी, वनजन्य तथा खनिजमा आधारित उद्योग र वातावरणमैत्री पर्यटनको विकासबाट रोजगारी सिर्जना, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्न सकिने उनको भनाइ छ ।
त्यसका लागि स्वदेशी तथा विदेशी लगानी भित्र्याउँदै प्रवासी नेपालीको पूँजी, ज्ञान, सीप र उद्यमशीलतालाई नेपालको विकाससँग जोड्नुपर्ने उनले बताइन् । सरकारले लगानीमैत्री वातावरण, नीतिगत स्थिरता र लगानीको सुरक्षा सुनिश्चित गर्नुपर्नेमा पनि उनले जोड दिइन् ।
यसैगरी, भण्डारीले जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढिरहेको नेकपा एमालेले लोकतान्त्रिक प्रणालीको सुदृढीकरण, राष्ट्रिय स्वाभिमान र सार्वभौमिकताको रक्षा तथा सामाजिक–आर्थिक रूपान्तरणमा योगदान गर्दै आएको बताइन् । देश र जनताको हितमा पार्टीले गरेका काम र उपलब्धिलाई अझ प्रभावकारी रूपमा अघि बढाउनुपर्ने उनको भनाइ थियो ।




प्रतिक्रिया