आईजीपी कार्की अदालत गए पुनर्बहाली हुने सम्भावना छ : अधिवक्ता नेपाल


काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरेपछि उनी सर्वोच्च अदालत जाने तयारीमा जुटेका छन्।

स्रोतका अनुसार कार्कीले सरकारको निर्णयविरुद्ध कानुनी उपचार खोज्ने तयारी गरेका हुन्। यस विषयमा उनले आफू निकट कानुन व्यवसायीहरूसँग छलफल गरिरहेको स्रोतले जनाएको छ।

यसैबीच, अधिवक्ता स्वागत नेपालले कार्की सर्वोच्च अदालत गएमा पहिलो दृष्टिमै पुनर्बहाली हुने सम्भावना रहेको बताएका छन्।

रिपोर्टर्स नेपालसँग प्रतिक्रिया दिँदै उनले सरकारले स्पष्टीकरण सोधेर त्यसको जवाफ चित्त नबुझेको अवस्थामा कार्कीलाई हटाएको नभएकाले अदालतबाट पुनर्बहालीको आदेश आउन सक्ने तर्क गरे।

‘आईजीपी कार्कीजी अदालत जानुभयो भने पहिलो दृष्टिमै पुनर्बहाली हुने सम्भावना छ,’ उनले भने, ‘किनभने सरकारले स्पष्टीकरण सोधेर आईजीपीको जवाफ चित्त नबुझेको अवस्था होइन।’

नेपालले प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकारको पदलाई लिएर पनि प्रश्न उठाएका छन्। आईजीपी स्वतः प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकार हुने उल्लेख गर्दै उनले त्यसका लागि छुट्टै पद सिर्जना गर्नुपर्ने अवस्था नरहेको तर्क गरे।