१८ कात्तिक, काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङले दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
बुधबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले केसीलाई आईजीपीको दर्ज्यानी चिह्न लगाइदिएका हुन्।
यसअघि नवनियुक्त आईजीपीलाई गृहसचिवले दर्ज्यानी चिह्न प्रदान गर्दै आएका थिए। प्रहरी इतिहासमा पहिलोपटक तत्कालीन गृहमन्त्री वामदेव गौतमले ध्रुवबहादुर प्रधानलाई आईजीपीको दर्ज्यानी चिह्न लगाइदिएका थिए। त्यसपछि गृहसचिवले दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा सुरु भएको थियो। अहिले पुनः गृहमन्त्रीले नै आईजीपीलाई दर्ज्यानी चिह्न लगाइदिएका छन्।
सुरुमा अवकाशमा जान लागेका आईजीपीले नवनियुक्त आईजीपीलाई दर्ज्यानी चिह्न लगाइदिने चलन थियो। प्रधानको नियुक्तिसँगै उक्त परम्परा तोडिएको थियो।
गृहमन्त्री गुरुङले यसअघि प्रहरी प्रधान कार्यालयको निरीक्षणका क्रममा नवनियुक्त आईजीपीलाई प्रधानमन्त्रीले नै दर्ज्यानी चिह्न लगाउने व्यवस्था गर्न पहल गर्ने बताएका थिए।
गृहमन्त्रीको कार्यभार सम्हालेको तीन दिनपछि १६ चैतमा प्रहरी प्रधान कार्यालय पुगेका उनले भनेका थिए, ‘अब नवनियुक्त आईजीपीलाई प्रधानमन्त्रीले फुली लगाउने व्यवस्था गर्छौं । त्यसका लागि म पहल गर्छु।’
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो। सरकारले यसअघि आईजीपी रहेका दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गरेको छ




प्रतिक्रिया